सार्वजनिक सेवा प्रसारण संस्थाको स्वायत्ततामा सञ्चार विज्ञहरुको जोड

काठमाडौँ – सञ्चार क्षेत्रका विज्ञहरुले सार्वजनिक सेवा प्रसारण स्वाययत्त हुनुपर्नेमा जोड दिनु भएको छ ।

पिएसवीको पूर्वारम्भका अवसरमा आज आयोजित सार्वजनिक सेवा प्रसारणको अभ्यास, चुनौती र सम्भावनाहरू शीर्षकको विषयगत छलफलमा सहभागी विज्ञहरूले  वर्तमान पिएसबी कानुनले सार्वजनिक सेवा प्रसारण माध्यम कति स्वायत्त रहला भन्ने विषयमा आशंका गर्ने ठाउ कायम नै राखेको भन्दै त्यसलाई चिरेर जानुपर्नेमा सुझाब दिनु भएको हो ।

सार्वजनिक सेवा प्रसारणलाई सरकारी मुखपत्र बन्नबाट रोक्दै प्रसारण सामग्रीमा विविधता ल्याउन र जनसहभागिता बढाउन समेत विज्ञहरुले त्यस अवसरमा सुझाव दिनुभयो ।

कार्यक्रममा सञ्चार कानुनका विज्ञ काशीराज दाहालले सरकारको प्रभावबाट मुक्त भई स्वतन्त्र, निष्पक्ष र प्रतिस्पर्धी सञ्चारमाध्यमका रुपमा स्थापित हुनु नै पिएसवीका लागि अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि नवीन प्रविधिहरूको उपयोग र निरन्तर कानूनी सुधारमा जोड दिन सुझाव दिनुभयो ।

नेपाल टेलिभिजनका पूर्व अध्यक्ष एवं महाप्रबन्धक निरविक्रम शाहले सरकारका नीति र योजनाहरूलाई जनपक्षीय बनाउँदै सफल कार्यान्वयनका लागि प्रसारणका माध्यमबाट योगदान पुर्याउनु नै सार्वजनिक सेवा प्रसारणको मुख्य दायित्व हुने बताउनुभयो ।

छलफल कार्यक्रममा सार्वजनिक सेवा प्रसारण सञ्चालक समितिका सदस्य फुलमान बल तामाङले कानुनमा नै राज्य र जनताका प्राथमिकताहरूको प्रवद्र्धन गर्नु सार्वजनिक सेवा प्रसारणको मुख्य दायित्व तोकिएको हुनाले प्रसारण सामग्रीहरूले यसै दायित्वलाई प्राथमिकता दिने बताउनुभयो ।

यस्तै कार्यक्रममा वरिष्ठ पत्रकारहरू मणि राणा र बबिता बस्नेतले सञ्चारमाध्यमले दिने सूचनामा जनताको विश्वास घट्दै गएको अहिलेको अवस्थामा सार्वजनिक सेवा प्रसारणले स्वतन्त्र र निष्पक्ष सूचना दिन सके राज्य र जनता दुबैलाई फाइदा पुग्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले जनताको दैनिक जीवनसँग जोडिएका विषयहरूमा खोज र अनुसन्धानमा आधारित सामग्रीहरूमा जोड दिन सुझाव दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण (पिएसवी) ले दर्शक र श्रोताको माग अनुसार आफ्नो प्रसारण सामग्रीहरूमा निरन्तर सुधार र परिमार्जन गर्दै लैजानुपर्नेमा उहाहरुको जोड छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.