इजरायल र हमासबीच युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता
काठमाडौं- इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता भएको छ ।
सम्झौता १९ जनवरीबाट सुरु हुने बताइएको छ । इजरायल र हमासले १५ महिनाको युद्धपछि गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा सहमति जनाएको मध्यस्थकर्ता कतार र अमेरिकाले पनि पुष्टि गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्ण युद्धविराम, गाजाबाट इजरायली सेना फिर्ता गर्ने र हमासद्वारा बन्दी बनाइएका सबै बन्धकहरूलाई रिहा गर्ने सम्झौताको पुष्टि गर्नुभएको छ ।
राष्ट्रपति बाइडेनले गाजामा लडाइँ रोक्ने, प्यालेस्टिनी नागरिकहरूलाई आवश्यक पर्ने मानवीय सहायता बढाउने र बन्धकहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्ने समेत बताउनु भएको छ ।
कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि आगामी आइतबारदेखि नै सम्झौता लागू हुने बताउनु भएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने सम्झौताको अन्तिम विवरणमा अझै काम भइरहेको बताउनु भएको छ । तर उहाँले यसलाई प्रवर्द्धन गरेकोमा बाइडेनलाई धन्यवाद दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले प्यालेस्टाइनीहरूलाई सहयोग पुर्याउन संयुक्त राष्ट्र संघ तयार भएकोले द्वन्द्वबाट निम्त्याएको ठूलो पीडालाई कम गर्नु पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा गरेको आक्रमणमा १२ सय मानिसहरूको मृत्यु भएको थियो भने २५१ जनालाई गाजामा बन्धक बनाएको थियो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलले गरेको आक्रमणमा ४६ हजार भन्दा बढी प्यालेस्टाइनीहरू मारिएका छन् । ९४ जना अझै पनि हमासले बन्धक बनाएका र ती मध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।
इजरायल र हमासबीचको युद्धविराम सम्झौता मध्यपूर्वमा शान्ति स्थापनाको लागि एक ठूलो उपलब्धि भएको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्