सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

पाल्पा- सिद्धबाबा सुरुङमार्ग छिचोल्ने कार्य अन्तिम चरणमा पुगेपछि ब्रेक थ्रु को तयारी पुरा भएको छ । एक साता अघि नै सुरुङ छिचोल्ने कार्य अन्तिम चरणमा पुगेपनि सम्मननीय प्रधानमन्त्रीको उपस्थितमा (ब्रेक थ्रु) हुने भएको हो ।

पुषभित्रै सुरुङमार्ग छिचोल्ने कार्य गर्ने तयारीमा रहेको आयोजनाको औपचारिक कार्यक्रम पहिले माघ २ गते माघ हुँदै अहिले माघको ११ गते गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार सुरुङमार्ग खनेर सक्न अब डेढ मिटर मात्र बाँकी छ । त्यो कार्य ११ गते हुनेभएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको अति दुर्घटना स्थल सिद्धबाबामा सुरुङमार्ग आयोजना अगाडि बढाइएको हो ।

यसअघि नै तीन वटा बाइपास सुरुङ मुख्य सुरुङसम्म जोडिएको छ । बाइपास सुरुङ-३ को गत भदौ २६ मा, बाइपास सुरुङ-१ को असोज ४ मा र बाइपास सुरुङ-२ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो ।

बाइपास- १५१, २६१ र ३३० मिटर टनेल छन् । दक्षिणतर्फ ६०८ र उत्तरतर्फ ४७९।५ मिटर सुरुङ खनिएको छ । आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ समारोह हुने दिनमा साढे एक मिटर भागलाई विस्फोट गरिने छ ।

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा ‘लाइनिङ’ गर्ने कामलाई तीव्रता दिइने छ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढेको छ ।

त्यसपछि विद्युतीकरण, ‘भेन्टिलेसन’, नालीलगायतका कामलाई गति दिइने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो ।

सुरुङमार्गको हालसम्म भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको आयोजनाले जनाएको छ । ‘ब्रेक थ्रु’ पछि ‘रक सेड’ र रक नेटको काम अघि बढाइने आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.