प्रधानमन्त्रीबाट पाण्डेलाई अकोन्कागुआ हिमाल आरोहणको शुभकामना
काठमाडौँ – विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दै छन् । आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिनुभयो । प्रधानमन्त्रीले समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो सधैँ साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।
सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसक्नु भएका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान सुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउन्ट एलब्रस आरोहण गर्नुभएको थियो । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गर्नुभएको थियो ।
रामेछाप लिखु तामाकोसी–७, तिल्पुङ स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गरिरहेका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमालहरू चढ्दै आउनुभएको छ। अब नियमितरुपमा सबै महादेशका हिमालहरू चढ्दै जाने लक्ष्य रहेको बताउँदै आरोही पाण्डेले आफ्नो यो अभियान हिमाल चढ्ने अभियान मात्रै नभएर जलवायु परिवर्तनका असरहरुका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने अभियान भएको बताउनुभयो । जलवायु परिवर्तन निम्त्याउन हाम्रो नगण्य भूमिका भए पनि यसका कारणले हामीले विषम परिस्थितिको सामना गरिरहनु परेको हुँदा सबै ठुला र शक्तिशाली राष्ट्रहरूको चासोको विषय हुनुपर्ने उहाँले बताउनुभयो । अन्य आरोहणमा जस्तै यस आरोहणमा पनि जलवायु परिवर्तनका विषयमा उक्त हिमाल रहेको देशमा छलफल गर्ने र परिवर्तनका असरलाई नजिकैबाट नियाली आफ्नो अनुभव सम्बन्धित तहसम्म लैजाने उहाँले बताउनुभयो।
लोकप्रिय खेल फुटबल मार्फत अर्जेन्टिना चिनेका धेरैजसो नेपाली मध्ये थोरैलाइ मात्र दक्षिण अमेरिकाको उच्च हिमशिखर अर्जेन्टिनामा छ भन्ने थाहा हुनसक्छ तर पनि आफ्नो आरोहण अभियानले नेपाली युवामाझ अर्जेन्टिनाका बारेमा जानकारी पुग्ने र अर्जेन्टिनामा पनि सुन्दर पर्वतीय देश नेपालको बारेमा थप परिचय स्थापित गर्न भूमिका खेल्ने विश्वास पाण्डेको छ । सन् १९६२ मा दौत्य सम्बन्ध कायम भएका दुई देश नेपाल र अर्जेन्टिना बिच भौगोलिक दुरीकै कारण हुनुपर्छ, सामान्य व्यापारिक सम्बन्ध बाहेक विशेष आदानप्रदान भएको देखिँदैन । तर पनि एउटा नेपाली युवाले आफूबाट पृथ्वीको अर्को छेउमा रहेको देश अर्जेन्टिनामा भएको समग्र अमेरिकी महादेशकै उच्च हिमाल आरोहण गर्नुले दुई देशको दौत्य सम्बन्धका लागि पनि सेतुको काम गर्ने विश्वास उहाँले लिनुभएको छ । समृद्ध रहिसकेको अर्जेन्टिनाले हालैका दिनमा आर्थिक र राजनीतिक उतारचढाव भोगिरहेको भए पनि लाखौँ अर्जेन्टिनीहरु बिदामा विश्वका विभिन्न मुलुकको भ्रमणमा निस्कन्छन् । अर्जेन्टिनाबाट घुम्न निस्कने ठुलो सङ्ख्याको पर्यटकको उल्लेख्य हिस्सा भित्र्याउन सक्ने गरी नेपालको पर्यटनको प्रवर्द्धन र प्रचारप्रसारमा समेत आफ्नो अभियानले टेवा पुर्याउन सक्ने पाण्डे बताउनुहुन्छ ।
हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरूमा फहराएको नेपालको झन्डा नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने पाण्डेले बताउनुभयो । पाण्डे पर्वतारोहणका अतिरिक्त अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलमा समेत आबद्ध हुनुहुन्छ । स्काउटका संस्थापकको नाउँमा नामाकरण गरिएको नेपालमा रहेको हिमाल बेडेन पावेल स्काउट पिक पनि उहाँले दुई पटक चढिसक्नुभएको छ । स्काउट र रोटरी मार्फत पनि नेपालको पर्यटन प्रवर्दन गर्ने गरेको पर्वतारोही पाण्डे बताउनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्