कृषि र पशु मेला प्रदर्शनीमा २७ जना किसान सम्मानित
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न कृषि तथा पशु मेला प्रदर्शनीमा जिल्लाका विभिन्न २७ जना किसानहरू सम्मानित भएका छन् । आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला–२०८१ मा आयोजित कृषि र पशु मेला प्रदर्शनीमा २७ जना किसानहरूलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।
जिल्लाका स्थानीय किसानहरूलाई लक्षित गरेर म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजना तथा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहरीकरणमा सम्पन्न कृषि तथा पशु मेला प्रदर्शनीमा कृषितर्फ २४ र पशुपालनतर्फ ३ जना उत्कृष्ट किसान छनौट गरी सम्मान गरिएको छ । दुवै मेलाको प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट घोषित भएका किसानहरूले नगदसहित सम्मान प्राप्त गरेका छन् ।
महोत्सव स्थल खुल्ला मञ्चमा एक समारोहबिच कृषि मेला प्रदर्शनीमा काउली बालीतर्फ बेनी नगरपालिका–१ रत्नेचौरका रुद्रबहादुर थापा, सुन्तला जात फलफूलमा बेनपा–५ भिरमूनिका गणेश बानियाँ, अन्य फलफूल (केरा) खेतीतर्फ धवलागिरि गाउँपालिका–७ ताकमका यमन रोका, जरे बाली (रायो साग)तर्फ बनेपा–४ सिङ्गाका प्रेमबहादुर श्रीष र विविधतर्फ (च्याउ) खेतीमा धवलागिरि–७ ताकमकी प्रमीला थापामगर प्रथम हुनुभयो ।
कृषि मेला प्रदर्शनीबाट विभिन्न विधातर्फ छनोट भई उत्कृष्ट भएका किसानलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी २४ जनालाई क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत प्रकाश पुनले जानकारी दिनुभयो । उत्कृष्ट किसानहरूलाई कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोला र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं आठौँ म्याग्दी महोत्सवका मूल संयोजक सुविन श्रेष्ठले सम्मान प्रदान गर्नुभएको थियो ।
कृषि मेला प्रदर्शनीमा विभिन्न छ वटा पालिका रहेको म्याग्दीको बेनी नगरपालिकाबाट ५३ जना, मङ्गला गाउँपालिकाबाट ६ जना, धवलागिरिबाट ७ जना, रघुगंगाबाट १० र अन्नपूर्ण गाउँपालिकाबाट १४ जना गरी कुल ९४ जना किसानहरूले सहभागिता जनाएका थिए । किसानहरूले वस्तुतर्फ १ सय २० र बालीतर्फ ३९ वटा उत्पादनहरू प्रदर्शनीमा ल्याएर प्रतिस्पर्धा गराएका थिए । कृषि मेला प्रदर्शनीमा मूल्याङ्कनसहित पुरस्कृत हुन पाउँदा आफूलाई धेरै खुसी लागेको अनुभव सुनाउँदै रत्नेचौरका किसान रुद्रबहादुर थापाले कृषि ज्ञान केन्द्रबाट प्राप्त ज्ञान, सिप र अनुदानसहितका कार्यक्रमले उत्पादन बढाउन सहज भएको प्रतिक्रिया दिनुभयो ।
यसै गरी उत्कृष्ट प्रजननयोग्य बोका प्रदर्शनी तथा प्रतियोगितामा १ सय १ किलो तौल भएको जमुनापारि बोकातर्फ बनेपा–२ खबराका कर्णबहादुर खड्का प्रथम, बनेपा–३ भकिम्लीका धन श्रीष द्वितीय र बनेपा–५ चिप्लेटीका गोपाल खत्री तृतीय हुनुभएको छ । पशु मेलामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा उत्पादित कृषि र पशुजन्य उत्पादनहरूको प्रचारप्रसार तथा किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि मेला प्रदर्शनी आयोजना गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो । जिल्लामा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न, कृषि उपज तथा फलफूलको प्रदर्शनी र प्रचारप्रसार एवं स्थानीय किसानहरूको हौसला बढाउन म्याग्दी महोत्सवको अवसर पारेर कृषि मेला प्रदर्शनी गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्