सुस्तामा विद्युत पुगेको चार महिनासम्म पनि बिजुली बल्न सकेन
पश्चिम नवलपरासीको सुस्तामा राष्ट्रिय प्रशारण लाईनको विद्युत पुगेको चार महिना सम्म पनि विद्युत मिटर जडान हुन नसक्दा स्थानीयले विद्युत उपभोग गर्न पाएका छैनन् ।
अधिकांश स्थानीयसंग लालपुर्जा र नागरिकता नहुँदा मिटर जडान गर्न समस्या भएको विद्युत प्राधिकरणले जनाएको छ । साढे तीन सय बढी घरघुरी रहेको नारायणी नदि पारीको सुस्ता गाँउबाट मिटर जडानका लागी हालसम्म १ सय ४८ जनाले मात्र निवेदन दिएका छन् तर निवेदन दिएकाहरुबाट पनि राजश्व भुक्तानी हुन सकेको छैन् ।
धेरैसँग लालपुर्जा र नगरिकता नहुँदा मिटर जडानका लागी निवेदन समेत दिन नसकेको सुस्ताका स्थानिय मुन्ना खाँले बताउनुभयो । ‘हामी सिमा रक्षक बनेर बसेका छौँ, तर हालसम्म न नागरिकता छ, नत लालपुर्जा, घर अगाडी आएको विद्युत समेत बाल्न पाएका छैनौँ, खाँले गुनासो गर्नुभयो ।’
अहिले सुस्ताबासीले सोलारमार्फत उत्पादित विद्युत प्रयोग गर्दे आएका छन् । तर उक्त विद्युतमार्फत उद्योगधन्दा तथा ठुला क्षमताको उपकरण चलाउन सकिदैन् भने पटक पटक सोलार मर्मत गर्नुपर्ने भएकाले नियमित विद्युत आपुर्तिमा समस्या हुँदै आएको छ ।
नारायणी नदिमा पारी सुस्ता जोड्ने गरी नेपालकै लामो झोलुंगे पुल बनेपछि झन्डै डेढ करोड रुपैयाँको लागतमा विद्युत लाईन विस्तार गरिएको थियो ।
उक्त विद्युत लाईन सुस्ता पुगेपछि गत असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंह, उर्जा जलस्रोत तथा सिचाँई मन्त्री दिपक खड्का लगायतको उपस्थितीमा विद्युत प्रशारणलाईनको उद्घाटन गरिएको थियो ।
तर उद्घाटनको केहि दिनसम्म विद्युत बलेपनि त्यसपछि बिजुली बल्न सकेको छैन् । मिटर जडान गर्ने कार्य पुरा नहुँदासम्म विद्युत वितरण गर्न समस्या भएको नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले बताउनुभयो ।
निवेदन दिएकाहरुले पनि राजश्व समेत भुक्तानी नगरेकाले विद्युत मिटर जडान गर्न नसकिएको झाको भनाई छ । सुस्ताबासीले भने विद्युत लाईनको उद्घाटन कार्यक्रममा उर्जामन्त्री दिपक खड्काले एक वर्ष निशुल्क विद्युत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकाले उक्त प्रतिवद्धता कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै सुस्ताबासीले नागरिकता र लालपुर्जाको समस्या समाधान गरी एक वर्ष निशुल्क विद्युत जडानको व्यवस्था गर्न ध्यानआर्कषण गराएका छन् ।
प्रतिक्रिया राख्नुहोस्