पूर्व गृहमन्त्री लामिछाने बिरुद्धको थुनछेक बहस जारी

बुटवल- बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने बिरुद्धको थुनछेक बहस जारी छ ।

रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछाने बिरुद्धको थुनछेक बहस भएको हो । मुद्धामा नेपाल सरकारको तर्फबाट आज उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह-न्यायाधिवक्ता सोमकान्त भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्नुहुनेछ।

सहकारी पीडितका तर्फबाट बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन्।

उहाँहरुको बहस सकिए लगत्तै प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारीसहितले बहस गर्ने तयारी छ ।

इजलासमा पीडितले पनि बोल्न पाउनुपर्ने माग आफूहरूले गरेको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताउनुभयो ।

यसअघि पोखराको सुर्यदर्शन सहकारीको रकम ठगीको मुद्दामा कास्कीमा ८४ दिन हिरासत बसेका लामिछानेलाई काठमाण्डौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीसम्बन्धी अभियोगमा काठमाडौँ जिल्ला अदालतले हिरासतमै राखेर बयान र थुनछेक बहस गराएको थियो।

ती दुवै अदालतमा उनले हिरासतबाहिरै बसेर थुनछेक बहसमा सहभागी हुन पाउनुपर्ने अपिल गरेका थिए।

रुपन्देही अदालतले भने उनको मागअनुसारै बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हिरासतबाहिरै बस्ने सुविधा दिएको थियो।

हिजो रुपन्देही जिल्ला अदालतमा हाजिरभएका लामिछानेसँग न्यायधिश योगीले बयान लिएपछि थुनछेक बहसका लागि समय अभाव भएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई परिवार र उहाँका वकिलको जमानीमा छाडिएको थियो ।

हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.