विकासलाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासङ्घ नेपालका पदाधिकारीसँग आज राष्ट्रपति भवनमा भएको भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभयो “विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, नीजि क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकै छ, संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ ।”
उहाँले बजेट, योजना र कार्यादेशअनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढाएर राज्यको ध्यान आकर्षित गर्न पनि आग्रह गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो , “गाउँ, नगर र वडामा योजना, प्रक्रिया, कार्यादेश अनुसार काम भए नभएको बारेमा अलिकति चनाखो र सजग भएर क्रियाशीलता बढाउने हो भने विकासका काम पनि अघि बढ्छ, बजेटको सही सदुरुपयोग हुन्छ । यसबाट राष्ट्रको विकासमा योगदान दिन्छ ।”
उहाँले आफ्नो भूमिकालाई आफँै क्रियाशील र जागरुक भएर प्रभावकारिता बढाउन पनि समन्वय समितिका प्रमुख एवम् उपप्रमुखलाई आग्रह गर्नुभयो ।
संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको जनाउँदै राष्ट्रपति पौडेलले गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले महासङ्घको ३०औँ स्थापना दिवस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्