दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्नु पर्छ ः निधी
बारा- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपसभापति बिमलेन्द्र निधिले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्ने बताउनु भएको छ ।
निजगढबाट एक घण्टामै काठमाडौँ पुग्न द्रुतमार्ग बनेको बताउँदै यो सम्पन्न हुनु अघि नै निजगढ विमानस्थलको काम सुरु हुने बताउनु भएको छ । निजगढ विमानस्थल देशको आर्थिक समृद्धिका लागि अति आवश्यक रहेको उहाँले बताउनु भयो ।
नेपाली काँग्रेसको सङ्गठन सुदृढीकरण गर्दै पार्टीलाई बलियो पार्न पार्टीले सय दिने अभियान सञ्चालन गरेको कार्यक्रमका लागि बारा आउनुभएका निधिले सो कुरा बताउनु भएको हो ।
नेपाल प्रेस युनियन बारा शाखाले नेपाली काँग्रेस पार्टी कार्यालय कलैयामा बिहीबार गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व उपसभापति समेत रहेका निधिले केही कमीकमजोरी छ भने सबै पक्षसग छलफल गरेर संविधान संशोधन मार्फत सबैको पहिचान हुने गरी काम अगाडी बढाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
संङघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी मुलुकमा स्थायी शान्ति, सुशासन कायम गर्दै विधिको शासन कायम गराउनु र दण्डहीनतालाई अन्त्य गर्दै सभ्य समाजको निर्माण गर्नु नै नेपाली काँग्रेस पार्टीले सय दिने अभियान मार्फत देश भरी नेता, कार्यकर्तालाई सन्देश प्रवाह गरेको जानकारी गराउनुभयो ।
नेपाली काँग्रेस र नेकपा एमालेको सरकार सहमति अनुसार नै चल्ने भन्दै पूर्व गृहमन्त्री समेत रहनु भएको नेता निधिले अहिले सरकार नढल्ने ठोकुवा गर्नुभयो । दुई वर्ष ओलीले सरकार चलाई सकेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँले बताउनु भयो । सहमति अनुसार तिनै तहको निर्वाचन समेत देउवा नेतृत्वको सरकारलेनै गर्ने कुरामा ढुक्क रहन सबैलाई आग्रह गर्नु भएको छ ।
माघ १६ गते सम्म बारामै बसेर नेपाली काँग्रेस पार्टी केन्द्रीय समितिले आफुलाई पार्टीको सङ्गठन सुद्धृढिकरण गर्दै चार वटै निर्वाचन क्षेत्रमा क्रियाशील बनाउने अभियानमा खटाएको उहाँले बताउनु भयो ।
पार्टीलाई चलायमान बनाउँदै मिसन ८४ का लागि पनि काँग्रेस बलियो बनाउन भन्दै पार्टी, भातृ संस्था, स्वेच्छुक संस्थालाई सक्रिय गराउँदै क्रियाशील सदस्यता प्रदान गर्ने काम नै सय दिने अभियानको मुख्य उद्देश्य रहेको निधिले बताउनु भयो ।
प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सो पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको नेता निधिले पार्टीको आन्तरिक गुटबन्दी कमगर्न भूमिका खेल्ने बताउनु भएको छ । कार्यक्रममा संविधान सभाका सदस्य डाक्टर शोभाकार पराजुली, नेपाली काँग्रेसका जिल्ला सभापति राजेश राय यादव, उपसभापति मनोज भट्ट, कलावती पासवान, क्षेत्रीय सभापति लुकेश सिंह, पत्रकारहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसको सय दिने अभियान अन्तर्गत बाराको चार वटै प्रतिनिधि सभा क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको भएको छ । माघ ११ गते शुक्रवार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को आयोजनामा पार्टी कार्यालय कलैयामा, माघ १२ गते शनिवार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र ४ को आयोजनामा प्रसौनीमा, माघ १३ गते आइतबार प्रतिनिधि सभा क्षेत्र २ को आयोजनामा सुवर्ण गाउँपालिका वडा नम्बर १ बगही पोखरीमा, माघ १४ गते सोमबार साढे ११ बजे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को आयोजनामा नेपाली काँग्रेस पार्टी कार्यालय खोपवा बारा गढीमा, माघ १६ गते बुधवार साढे ११ बजे जिल्ला कार्य समितिको आयोजनामा पार्टी कार्यालय कलैयामा अभियान अन्तर्गत कार्यक्रम गर्ने उहाँले बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्