जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ
लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनुभएको छ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उहाँले बताउनुभयो ।
देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।”
सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्नेगरी सरकार काममा लागेको बताउनुभयो ।
अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्र्याउनेलगायत सदन अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐनकानुन अध्यादेशमार्फत जारी गरिएको उहाँले स्पष्ट गर्नुभयो । संसद्मा धेरै विधेयक विचाराधीन रहेको अवस्थामा अत्यावश्यक ती ऐन ससंद्बाट तत्काल पारित नहुने भएकाले अध्यादेशको बाटो अगाल्नुको विकल्प नरहेको उहाँको कथन थियो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले फरक प्रसङ्गमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमत्री केपी शर्मा ओलीले नचाहेसम्म वर्तमान सरकार तलमाथि नहुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्