पुरातत्व विभागद्वारा महोत्तरीको पाटु रातमाटा क्षेत्रमा थप अन्वेषण सुरु
महोत्तरी- पुरातत्व विभागले बर्दिबास–३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखानाबारे रहे ÷नरहेको अन्वेषण सुरुआत गरेको छ । यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञटोली शनिबार बर्दिबास आइपुगेको छ ।
“हामीले हतियार कारखानास्थलको अध्ययन र प्रारम्भिक खोज अन्वेषण थालेका छौँ”, पुरातत्वविद ज्ञवालीले भन्नुभयो, “यसअघिका हालसम्म प्राप्त अध्ययनको निष्कर्षबाट यो ठाउँ पुरातात्विक महत्वको स्थल हो ।”
अहिलेको बिपी राजमार्ग ९बर्दिबास–बनेपा राजमार्ग०को बर्दिबास–३ पाटुमा यो ठाउँ दुई दशकअघि जर्मन अन्वेषक गुडन कार्विन्सले पत्ता लगाउनुभएको हो । उहाँकै अध्ययन तथा खोज अन्वेषणको प्रतिवेदनका आधारमा अबका खोजीकार्य अघि बढ्ने विज्ञटोलीले जनाएको छ । अहिलेको बर्दिबासचोकबाट चार किलोमिटर उत्तर राजमार्गबाट पश्चिमपट्टि यो कारखानाले निकै ठाउँ ओगटेको प्रारम्भिक अध्ययनले देखाएको छ । कारखानास्थलमा निकै पुराना गारोका अवशेषजस्ता ठाउँ भेटिएको जनाइएको छ ।
पछिल्लो समयमा करिब सात दशकअघि यो ठाउँ नजिक वन फडानी गरी बसोबास थालिएको हो । विज्ञटोलीले यसअघि सात हजार वर्ष पहिलेसम्म यहाँ आसपास मानव बस्ती रहेका अवशेष पाइएको जनाएको छ । पाषाण युगकालीन हतियार कारखानास्थल आसपासमा अहिले पाटु, भब्सी, रातमाटा र राइमण्डलसहितका बस्ती छन् । कतिपय घरबस्ती र संरचनाले यो पुरातात्विक महत्वको ठाउँ चर्चेको प्रारम्भिक अध्ययनले देखाएको विज्ञ ज्ञवाली बताउनुभयो ।
“अब यसबारे गहन अध्ययन गरिन्छ”, उहाँ भन्नुहुन्छ, “यो ठाउँको संरक्षण, संवर्द्धन, अध्ययन तथा अनुसन्धानबारे सरकारले औपचारिक रूपमै बजेटमा यसपालि पहिलोपटक सम्बोधन गरेको छ ।”
यहाँ सात हजार वर्ष पहिलेसम्म मानव बस्ती रहेको भए पनि हतियार कारखाना भने त्योभन्दा निकैअघिको रहेको हुनसक्ने विज्ञटोलीको कथन छ । कारखाना सञ्चालन त करिब ३० हजार वर्ष पहिलेको हुनसक्ने ज्ञवाली बताउनुहुन्छ । “धेरै कुरा अबका थप अध्ययनले देखाउने छन्, प्रारम्भिक काम थालिएको छ”, ज्ञवाली भन्नुहुन्छ, “यो अध्ययनले यहाँको निकै पुरानो मानव सभ्यताबारे अध्ययनको ढोका पनि खोल्नेछ ।” रातु नदीको पश्चिमतिरको यो ठाउँको निकै पुरानो मानव सभ्यताको अध्ययन हुने ज्ञवालीको भनाइ छ ।
“सरकारले यस ठाउँबारे चासो बढाएछ, अब हाम्रो ठाउँको विकास सम्भावनाबारे आस बढेको छ”, पाटुका बासिन्दा तथा माध्यमिक तहका शिक्षक दीपकराज बराल भन्नुहुन्छ, “यसले हामीलाई उत्साही बनाएको छ ।”
हतियार कारखानास्थलबारे पुरातत्व विभागले औपचारिक रूपमै काम थालेपछि अब यहाँका प्राचीन महत्वका ठाउँबारे क्रमशः अध्ययन हुँदै जाने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षेत्री बताउनुहुन्छ । “हामी विभागको यो काममा साथ छौँ, आवश्यक सबै सहयोग पुर्याउँछौँ”, क्षेत्रीले भन्नुभयो । सबै पक्षको अध्ययन तथा अन्वेषण हुनसके रातु नदी किनारको प्राचीन सभ्यताबारे थप जानकारी बढ्दै जाने बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्