संसद अधिवेशनको तयारीका लागि सभामुखको सक्रियता
काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सन्दर्भमा सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग आज छलफल गर्नुभएको छ ।
सिंहदरबारमा आज भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरुलाई छिटो अघि बढाई बिजनेश दिन आग्रह गर्नुभएको थियो ।
समितिमा अल्झिएर रहेका बिधेयक, अघिल्लो संसददेखि थाती रहेका केही बिषय लगाएतमा सभामुखले चासो व्यक्त गर्नुभएको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।
उहाँले सदनलाई सहज ढंगले अघि बढाउन आफुहरुको सकारात्मक पहल हुने प्रतिवद्धता जनाएको बताउनुभयो ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदको प्रभावकारीताका साथै महत्वपूर्ण विधेयक अघि बढाउन सत्तारुढ दलले सहयोग गर्नुपर्नेमा सभामुखको जोड रहेको जानकारी दिनुभयो ।
माघ १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको उहाँले बताउनुभयो ।
उहाँले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरुलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गर्नुभएको जानकारी दिनुभयो ।
संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक अघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग भोलि सामूहिक रुपमा छलफल गर्ने तय भएको छ ।
त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ ।
संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्