अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनको मतगणना स्थगित
काठमाडौँ- नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि भएको मतदानको गणनामा समस्या आएपछि स्थगित गरिएको छ ।
सम्मेलनअन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना विशेष कारण देखाउदै अनिश्चितकालका लागि स्थगित भएको हाे ।
आइतबार विशेष र विश्वविद्यालय प्रदेशले संयुक्त विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि मतगणना स्थगित गरेको हो । उता मधेश प्रदेशकाे गणनाका क्रममा पनि समस्या देखिएपछि स्थगित गरिएकाे थियाे । ‘मिति २०८१ माघ १२ गते शनिबारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भई आज मिति २०८१ माघ १३ गते ११ः०० बजेदेखि सुरु गर्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि शनिबार निर्वाचन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्