अहिलेको शिक्षा नीतिमा परिवर्तन हुन अत्यावश्यक छ : सञ्चारमन्त्री गुरुङ

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताउनुभएको छ ।

सानोठिमीस्थित एसओएस स्कुलले आइतबार आफ्नै प्राङ्गणमा आयोजना गरेको ‘स्पोर्टस् मिट-२०८१’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले शिक्षा नीति परिवर्तन गरेर रोजगारमूलक शिक्षा नीति ल्याउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशको व्यवस्था बदलियो, राजनीति बदलियो, नेता बदलिए तर शिक्षा नीति बदलिएन । २०२८ सालकै शिक्षा नीतिले अहिलेसम्म चलिरहेको छ । अहिले हातमा सीप भएको प्राविधिक, सीपमूलक र जीवनोपयोगी शिक्षाको आवश्यकता छ ।

एक हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप लिएर आत्मनिर्भर हुनसक्ने शिक्षा नीति जरुरी छ ।” अहिलेको शिक्षा नीति परिवर्तन गर्न शिक्षा ऐन संशोधनका लागि मन्त्रिपरिषद्ले पास गरेर प्रतिनिधिसभामा पठाएको उहाँले बताउनुभयो ।

समावेशी र गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले समाजमा पछि परेका, हेपिएका सबै वर्गका विद्यार्थीको गुणस्तरीय शिक्षामा पुहँच पुर्‍याउँदै अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीनजस्ता देशहरुको शिक्षा र सीपसँग नेपालका विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको औँल्याउनुभयो ।

अचेल मन्त्रालयमा गाउँगाउँबाट टेलिफोन चाहियो, टेलिफोनको टावर बनाउन पर्‍यो भनेर आउने गरेका उल्लेख गर्दै उहाँले देशभर फोरजीको इन्टरनेटसहितको टेलिफोन पुर्‍याउने गरी काम गरिररहेको बताउनुभयो ।

सरकारले सबै कार्यालयमा विद्युतीय सुशासन कायम गर्ने गरी फाइबर लाइन विस्तार गरिरहेको भन्दै सञ्चारमन्त्री गुरुङले सबै सरकारी कार्यालय एवं वडातहसम्म इ-गभर्नेन्स लागूगर्ने बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले विश्व आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को जमानामा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपाल पनि एआई प्रविधिका प्रवेश गर्दै विकासमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले एआईको कृत्रिम बौद्धिकताको नीति बनाएर कृषि उत्पादनमा वृद्धि, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो । अहिलेका विद्यार्थीले सूचना प्रविधि पढेर घरमै बसेर लाखौ रुपैयाँ कमाउन सक्ने भएको भन्दै सूचना प्रविधिको भविष्य उज्ज्वल रहेकाले यसतर्फ विद्याथीको चासो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, विद्यालयकी प्रिन्सिपल रञ्जना बजगाईंलगायतले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकपालमा पनि दक्ष र योग्य बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.