सुविधासम्पन्न सूर्यविनायक नगरपालिका प्रशासनिक भवनको आज प्रधानमन्त्रीले उद्घाटन गर्नुहुँदै

भक्तपुर- टङ्कप्रसाद आचार्य प्रतिष्ठानको घर भाडामा लिएर प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको सूर्यविनायक नगरपालिका अब आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

भ्याटबाहेक २० करोड ४१ लाख ५२ हजार रुपैयाँ बजेटमा निर्माण नयाँ सुविधासम्पन्न भवनको निर्माण सम्पन्न भएको हो । आज प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो भवनको उद्घाटन गर्नेहुने कार्यक्रम छ ।

उद्घाटन लगतै आजैदेखि उक्त भवन सञ्चालनमा ल्याउने नगरप्रमुख वासुदेव थापाले बताउनु भयो । बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनीले भवन निर्माणको जिम्मा लगेको उक्त भवन अपाङ्गतामैत्री रहेको छ ।

छ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा फैलिएको नयाँ भवनमा करिब ५ सय सवारीसाधन अट्ने दुईतलाको पार्किङ, दुईवटा लिफ्ट, तीन सय जना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको नगरप्रवक्ता रविन्द्र सापकोटाले बताउनुभयो ।

भवनमा ९२ वटा कार्यकक्षका साथै स्तनपान कक्षसमेत रहेको छ । भवन निर्माण गर्न सङ्घीय सरकारको २ करोड रुपैयाँ, जिल्ला समन्वय समितिको ७५ लाख रुपैयाँ र बाँकी रकम नगरपालिकाले आफ्नै स्रोतबाट खर्च गरेको प्रमुख कार्यकारी अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो ।

नगरपालिकाले वडा नं. २ देखि १० सम्मका वडा कार्यालय भवन निर्माण सम्पन्न गरिसकेको, १ नं वडाको भवन निर्माणकै चरणमा रहेको, नगर अस्पताल सञ्चालनमा ल्याएको र ठूला सडक, पुललगायतका आयोजना सम्पन्न गरेको जानकारी दिंदै अब सुशासन र मानव संसाधनका क्षेत्रमा विशेष जोड दिने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.