विधुतको बजार सुनिश्चित छ, जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ-  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् लिमिटेडको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा आइतबार सांझ आयोजित कार्यक्रममा मन्त्री खड्काले उत्पादित जलविद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

“हामीले सन् २०३५ सम्म आन्तरिक खपत १३ हजार पाँच सय मेगावाट र १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा बिक्री गर्ने भनेका छौँ, उत्पादित विद्युत्को बजार सुनिश्चित भइसकेकाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,” मन्त्री खड्काले भन्नुभयो ।

विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारको कामलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री खड्काले निजी क्षेत्रले समेत प्रसारण लाइन निर्माण गर्न सक्नेगरी व्यवस्था मिलाइएकाले अब उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था नआउने उल्लेख गर्नुभयो । उहाँले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेको र प्रसारण लाइनको कामसमेत द्रुत गतिमा हुँदै गएकाले यस क्षेत्रमा लगानी सुरक्षित हुँदै गएको बताउनुभयो ।

जलविद्युत् क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विनाधितो सहुलियतदरमा प्रभावित क्षेत्रका विपन्न नागरिकलाई रु दुई लाखदेखि रु पाँच लाखसम्म शेयरको व्यवस्था गर्न लागेको मन्त्री खड्काले उल्लेख गर्नुभयो । विपन्न नागरिकलाई धनी बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध मुलुक निर्माण हुन नसक्ने उहाँको भनाइ थियो ।

मन्त्री खड्काले विकासका लागि सबै दलबीच राष्ट्रिय एकता कायम हुँदै गएको बताउनुभयो । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित प्रावधान खारेज गर्दा जलविद्युत् क्षेत्र मारमा परेको भन्दै उहाँले उक्त आदेशलाई पुनर्विचार गर्न आग्रह गर्नुभयो । मन्त्री खड्काले सरकारले लिएको लक्ष्य पूरा गर्न यस्ता जलविद्युत् कम्पनीले सहयोग पुग्ने भन्दै समयमै आयोजना सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।

पूर्वमन्त्री एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले रोजगारी सिर्जना गर्दै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता आयोजनाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ताप्लेजुङ जलविद्युत्को प्रचुर सम्भावना भएको क्षेत्र भएकाले यहाँ भएको स्रोतको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा लाग्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । मुलुकमा भएको ऊर्जा सङ्कटलाई समाधान गर्न ताप्लेजुङबाट उत्पादित विद्युत्ले सहयोग पुग्ने उहाँको भनाइ थियो ।

लक्ष्मी सनराइज बैङ्क लिमिटेडको नेतृत्वमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), नेपाल विद्युत् प्राधिकरण, नागरिक लगानी कोष, माछापुच्छे बैङ्कलगायतको लगानीमा उक्त जलविद्युत् आयोजना निर्माण हुन लागेको छ । उक्त जलविद्युत् आयोजना नौ वर्षको अध्ययनपछि निर्माण कार्य अगाडि बढाउन लागिएको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिनुभयो । आयोजनाको कुल लागत रु १८ अर्ब १३ करोड रहेको छ भने चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.