रुकुम पश्चिमका दश हजार बढी छात्रालाई एच. पी. भी. खोप लगाइने
रुकुम पश्चिम – रुकुम पश्चिमका दश हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एच. पी. भी. खोप लगाइने भएको छ । माघ २२ गते देखि सुरु हुने एच. पी. भी. खोप अभियान अन्तर्गत जिल्लाका दश हजार एक सय ९३ छात्रालाई खोप लगाइने भएको हो ।
स्वास्थ्य सेवा कार्यालयका अनुसार विद्यालयमा गएर अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एच. पी. भी. खोप लगाइने छ । जसअन्तर्गत कक्षा ६ देखि १० सम्मका ९ हजार नौ सय ६० छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका २ सय ३३ किशोरीलाई खोप लगाइने कार्यालय प्रमुख महेश चौलागाईँको भनाई छ ।
जिल्लाको मुसिकोट नगरपालिकाका २ हजार १ सय ८० छात्रा, आठबिसकोट नगरपालिकाका २ हजार १ सय ७९ छात्रा र चौरजहारी नगरपालिकाका १ हजार ५ सय ३१ छात्रा तथा किशोरीलाई एच. पी. भी. खोप दिइने भएको छ । त्यस्तै सानी भेरी गाउँपालिकाका १ हजार ५ सय ५९ छात्रा, त्रिवेणी गाउँपालिकाका १ हजार २ सय ७९ र बाँफिकोट गाउँपालिकाका १ हजार दुई सय ३२ छात्रा तथा किशोरीलाई एच. पी. भी. खोप लगाइने छ ।
एच. पी. भी. खोप अभियानका लागि २ सय सात वटा विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने भएको छ । अभियानलाई सफल पार्न जिल्लाभर २ सय १२ जना स्वास्थ्यकर्मी र ४ सय ४४ जना स्वयंसेवक परिचालन हुने भएका छन् ।
यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने एच. पी. भी. खोप अभियानमा छुटेकालाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट समेत खोप दिइने स्वास्थ्य सेवा कार्यालयले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्