जलजलामा सञ्चालित गण्डकी गोपाल गौशालालाई प्राप्त सहयोग सार्वजनिक
म्याग्दी– पर्वतको जलजला गाउँपालिका–७, धाई रिङको गोकुल धाममा सञ्चालित श्री गण्डकी गोपाल गौशालालाई विभिन्न व्यक्ति तथा सहयोगदाताहरूले सहयोग गरेका छन् । गौशाला सञ्चालन गर्नको लागि सहयोगदाताहरूबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
गौशालालाई गएको कार्तिक महिनादेखि हालसम्म विभिन्न व्यक्तिहरूले आफ्नो र परिवारको जन्मदिन, विवाहको वर्षगाँठ, पितृ उद्धार तथा विशेष दिनको अवसर पारेर स्वैच्छिक रूपमा गाई पालनका लागि पराल, दानालगायत जिन्सी सामानहरू सहयोग गरेका हुन् । पर्वत मिलन चोककी स्थानीय अगुवा तथा सामाजिक अभियन्ता जमुना आचार्यको व्यक्तिगत पहलमा गौशालामा पालिएका गाई र बाच्छाबाच्छीका लागि सङ्कलित पाँचखाल बढीको नगद तथा जिन्सीलगायत सहयोगका विवरणहरू सार्वजनिक गरिएको छ ।
गौशालाको लागि पर्वतको पाङ, खुर्कोट, नाग्लीबाङ, फलेबास, लेखफाँट, सालिजा, धाईरिङ, खोलाखेतलगायत स्थानबाट नुन र पराल सहयोग भएको थियो । स्वदेश तथा विदेशमा रहेका करिब २ सय जना सहयोगदाताहरूबाट आर्थिक तथा जिन्सी सहयोग भएकोमा जिन्सी र नगदबाट कुल १७ सय ५१ भारी पराल सङ्कलन गरिएको अभियन्ता आचार्यले बताउनुभयो । सालिजा र फलेबासमा टोल विकास संस्थाको सक्रियतामा पराल सङ्कलन गरिएको थियो । कार्यक्रममा झन्डै दुई सय जना व्यक्तिहरूले गरेको नगदसहित जिन्सीलगायत विभिन्न सहयोगको बारेमा सामाजिक अभियन्ता आचार्यले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले यस वर्ष गौशालामा आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि गाउँपालिकाबाट एक करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । साथै उहाँले गौशालाकै लागि यसै वर्ष सङ्घीय सरकारबाट पनि एक करोड ४५ लाख रुपैयाँ बजेट परेको बताउनुभयो । स्थानीय तथा सङ्घीय सरकारबाट परेको बजेटलाई गौशालामा आवश्यक पर्ने विभिन्न संरचनाहरू निर्माण गरिने बताउँदै अध्यक्ष आचार्यले गौशालामा पालिएका गाईको मलमूत्र लाई कृषि तथा खाद्यान्न बालीमा प्रयोग गरिने बताउनुभयो । उहाँले गाईको मलसँगै वन जङ्गलको पातपतिङ्गरलाई समेत सङ्कलन गरी अर्ग्यानिक मल बनाइने र गाउँपालिकामार्फत प्याकेजिङ गरेर सहुलियतदारमा बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रम गौशाला व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ उपाध्यायको अध्यक्षता, सचिव रामचन्द्र आचार्यको स्वागत र सामाजिक अभियन्ता जमुना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । पछिल्लो समय गौशालामा पालिएका गाई तथा बाच्छाबाच्छीका लागि सहयोगदाताहरूले स्वतःस्फूर्त रूपमा सहयोग गर्दै आइरहेका छन् । सहयोगी मनहरूले स्वैच्छिक रूपमा गौशाला व्यवस्थापन समिति र सामाजिक अभियन्तालाई फोन सम्पर्क गरेर नगद, जिन्सीलगायत सहयोगहरूको घोषणा गरी उपलब्ध गराउँदै आएको समितिले जनाएको छ ।
श्री मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यको सङ्कल्पमा वि.सं. २०७२ सालमा स्थापना गरिएको गण्डकी गोपाल गौशालामा हाल माउ गाई, बर तथा बाच्छी गरेर कुल ५८ वटा रहेका छन् । परम्परागत रूपमा पालिँदै आएका रैथाने जातका गाईको संरक्षण गर्ने उद्देश्यसहित गौशालाको अवधारणा ल्याएर गाई पालन गरिएको हो । समाजमा हुने विभिन्न धार्मिक कार्यहरूमा गाईको दूध, गोबर तथा गहुँतको अनिवार्य रूपमा प्रयोग गर्ने गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्