‘नो केबलकार’ समूहद्वारा मेची राजमार्ग र तमोर करिडोर बन्द
ताप्लेजुङ – पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विरोध जनाईरहेकोे ‘नो केबलकार’ समूहले मंगलबार मेची राजमार्ग र तमोर करिडोर बन्द गराएका छन् ।
शनिबार पाथीभरा क्षेत्रमा भएको झडपको विषयलाई लिएर उनीहरूले राजमार्ग र करिडोर बन्द गराएका हुन् ।
मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका संघसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने र १२ गतेको झडपमा घाइते भएकाहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन् । यस्तै, काफ्लेपाटीबाट प्रहरीले नियन्त्रणमा लिएको लक्ष्मण लिम्बू र चन्द्र सागर लिम्बूलाई रिहा गर्न पनि माग गरेका छन् ।
‘नो केबलकार’ समूहले मेची राजमार्ग र तमोर करिडोरमा मोटरसाइकल र अटोसमेत सञ्चालनमा रोक लगाएका छन् । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म र तमोर कोरिडोरअन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म यातायात ठप्प भएको छ ।
प्रतिक्रिया राख्नुहोस्