नेपाल टेलिभिजन: परियोजनादेखि सार्वजनिक सेवा प्रसारणसम्म
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/ntv-psb.jpg)
काठमाडौँ- परियोजनाको रुपमा २०४१ सालमा स्थापना भएको नेपाल टेलिभिजनले २०४२ साल पुष १४ गतेबाट नियमित प्रसारण सुरु गरेको हो । नेपाल टेलिभिजनको नियमित प्रसारणसँगै पहिलो दिनको समाचार बुलेटिनमै कुनै पनि दृष्य प्रसारण गर्न नसकेकोमा तत्कालीन समाचार प्रस्तोता स्वर्गीय दुर्गानाथ शर्माले दर्शकहरुसँग माफी माग्नु भएको थियो।
त्यतिखेर वरिष्ठ क्यामरापर्सन श्याम चित्रकारको बागबजारस्थित निजी स्टुडियोमा समाचार बुलेटिन रेकर्ड गरेर नेपाल टेलिभिजनबाट प्रसारण गर्ने गरिएको थियो।
काठमाडौँको लाजिम्पाटस्थित स्वर्गीय सरदार भीमबहादुर पाँडेको घरबाट नेपाल टेलिभिजनको पहिलो कार्यालय सिंहदरवारको अग्रभागमा रहेको भवनको माथिल्लो तल्लामा सरेपछि पनि स्टुडियो नबनुन्जेल समाचार बुलेटिन रेकर्ड नै गर्ने गरिन्थ्यो।
चौरासी खुड्किला चढिसकेपछि पुग्न सकिने कैलाशस्थित ठूलो कोठामा समाचार रेकर्ड गर्दा विभिन्न चरा चराचुरुङ्गीको आवाजले समस्या पार्ने गर्दथ्यो।
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/ntv-kiran-scaled.jpg)
२०४६ सालको जन आन्दोलनमा तत्कालीन पञ्चायती व्यवस्थाका शासकहरुले नेपाल टेलिभिजनलाई आन्दोलन विरुद्ध परिचालन गरेका थिए। त्यतिखेर हरेक दिनजसो समाचारमा आन्दोलनकारीहरूलाई ‘ब्वाँसोको खोल ओढेकाहरु’ जस्ता सम्बोधन गरिएका सामाग्री समावेश गरिएको हुन्थ्यो।
आन्दोलन क्रमश: चर्किदै गएपछि घर फर्कने स्थिति नभएर हामी कयौँ रात सिंहदरवारको सबैभन्दा माथिल्लो तल्लामा सुतेका थियौँ। २०५२ सालदेखि सुरु भएको तत्कालीन माओवादी जनयुद्धका बेला पनि अफिसमै बास बस्ने अवस्था दोहोरिएको थियो। त्यतिखेर यस्तो जोखिमपूर्ण स्थिति भोग्नु परेको थियो कि आफूले बनाउँदै नबनाएको कार्यक्रमको जिम्मेवारीसमेत लिन बाध्य हुनु परेको थियो।
त्यसबखत “अचेल” नामक एउटा समसामयिक कार्यक्रम प्रसारण हुन्थ्यो। हामीले कार्यक्रमको प्रारम्भ र अन्त्यको उद्घोषण रेकर्ड गरिसकेपछि अन्तैबाट ल्याइएको माओवादी विरुद्ध लक्षित विषय वस्तुले कार्यक्रम भरिन्थ्यो।
२०६२/६३को जन आन्दोलनका बेला पनि तत्कालीन सरकारले नेपाल टेलिभिजनलाई आन्दोलन विरुद्ध परिचालित गरेको थियो। त्यसबेला दिनहुँजसो काठमाडौँ उपत्यकाका विभिन्न भागमा हुने गरेका आन्दोलनका कार्यक्रममा नेपाल टेलिभिजनका प्रतिनिधि समाचार सङ्कलनका लागि अनिवार्य जानु पर्दथ्यो। तर खिचिएका दृष्य समाचार तथा समसामयिक कार्यक्रममा प्रयोग नभई सुरक्षाकर्मीले आफ्नो प्रयोजनका लागि लिएर जान्थे।
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/1-NTV-3-792-scaled.jpg)
स्थापनादेखि हालसम्मको अवधिमा सत्तामा रहेकाहरूले दुरुपयोग गरेको आरोप लाग्दै आइरहेको नेपाल टेलिभिजनलाई अब नेपाल सरकारले सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा रूपान्तरण गरेर स्वायत्तताको प्रतिबद्धता प्रकट गरेको छ।
सरकारी संचार माध्यम दुरुपयोगको विगतको जस्तोस्थिति अबका दिनमा दोहोरिन नदिन प्रेस स्वतन्त्रताको सिद्धान्तलाई दृढतापूर्वक अंगिकार गर्दै अगाडि बढनु पर्ने आवश्यकता छ। संघीय संसदको सहमतिमा नेपालमा पहिलो पटक सार्वजनिक सेवा प्रसारण संस्था घोषणा गरिएपछि नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय एवं सम्बन्धित निकायले यसलाई कुनै पनि प्रकारको हस्तक्षेपबाट मुक्त राख्न नेतृत्वदायी भूमिका खेल्नु पर्दछ।
यस संस्थामा पहिलो पदाधिकारी र संचालकको जिम्मेवारी पाउनु भएकाहरुले पनि ऐनमा उल्लेख गरिए अनुसार हस्तक्षेप एंव दवावमूक्त नेपाल टेलिभिजन बनाउन प्रतिवद्धता व्यक्त गर्नु जरुरी देखिएको छ।
पहिलो प्राथमिकता
सार्वजनिक सेवा प्रसारण संस्थाले सार्वजनिक प्रसारणका साथै व्यावसायिक प्रसारण सेवासमेत सञ्चालन गर्न सक्ने भएकोले नेपाल टेलिभिजन अन्तर्गत रहेका ५ वटा च्यानलको लक्ष्य निर्धारण पहिलो प्राथमिकता हुनु पर्ने देखिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिभिजनका ५ च्यानल मध्ये २ वटा च्यानललाई व्यवसायिकरण गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ। नेपाल टेलिभिजन अन्तर्गत हालसम्म स्थापना भएका विभिन्न ५ वटा च्यानललाई प्रतिस्पर्धी बनाउँदै लैजानु पर्दछ।
ति च्यानलहरूको समग्र मुल्याङ्कन गरी उपलब्धिमूलक बनाउन ठोस योजनाहरू बनाउनु पर्ने आवश्यकता छ। नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्युज, एनटिभी कोहलपुर तथा एनटिभी इटहरी जस्ता च्यानलहरू कसरी सञ्चालन भैरहेका छन्? लोकप्रियताको अवस्था कस्तो छ? आर्थिक रुपमा ति च्यानल आत्म निर्भर छन कि छैनन्? जनशक्तिको भार आवश्यकता भन्दा बढी छ कि ? जस्ता विषयमा पनि बिचार विमर्श गर्नु पर्ने देखिन्छ।
नेपालको सबैभन्दा पुरानो च्यानल नेपाल टेलिभिजन २०४२ साल पुष १४ गतेदेखि हालसम्म नियमित रुपमा प्रसारण भैरहेको छ। अन्य च्यानलको तुलनामा यस च्यानलको दर्शकहरूको सङ्ख्या तथा राजस्व सङ्कलन बढी छ। तर विगतमा भन्दा विज्ञापन सङ्कलन कम हुँदै गइरहेकोले आय घट्दो छ।
विश्वसनीय समाचारका लागि नेपाल टेलिभिजनको समाचार बुलेटिनले बिगतदेखि नै आफ्नो पहिचान बनाएको छ। २०७१ सालदेखि समाचार प्रसारणका लागि छुट्टै एनटिभी न्युज च्यानल सुरु गरिए पनि हालसम्म पुरानो च्यानलले समाचार प्रसारण गर्न छोडेको छैन। सबैभन्दा पुरानो च्यानललाई व्यवसायिकरण गरे यसबाट आम्दानी हुन सक्ने तथा जुन रकम सार्वजनिक प्रसारण सेवाको विकास र विस्तारमा प्रयोग गर्न सकिने सम्भावना देखिएको छ।
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/Pashupati-live-NTV-2621-1-scaled.jpg)
एनटिभी न्युज च्यानलबाट मात्रै समाचार बुलेटिन प्रसारण गरेर यो च्यानललाई स्थापित गराउन प्रयत्न गर्नु जरुरी देखिएको छ। तर निजी क्षेत्रका अन्य टेलिभिजनहरुसँग यसलाई प्रतिस्पर्धी बनाउन समाचारकक्षलाई स्वायत्त छोडिदिनु पर्ने देखिन्छ। समाचारमा सबैभन्दा महत्वपूर्ण प्राथमिकता सर्वसाधारणले पाउनु पर्दछ। जन-अभिरुचिका समाचारले स्टेसनकै लोकप्रियता बढाउँदै लैजाने कुरामा शङ्का छैन भने भाषणमुखी समाचारले भैरहेका दर्शकहरूको सङ्ख्या पनि घटाउँछ।
२०६० सालमा चीन सरकारको सहयोगमा नेपाल टेलिभिजनको दोश्रो च्यानलको एनटिभी मेट्रोको स्थापना गरिएको थियो। प्रारम्भमा काठमाडौँ उपत्यकाको लागि मनोरञ्जनात्मक च्यानलका रुपमा यसको प्रसारण सुरु गरिएको थियो। हाल एनटिभी प्लस नामकरण गरिएको यो च्यानललाई पनि व्यवसायिकरण गर्न सकिन्छ।
तर अहिले यो च्यानलको अधिकांश समय दूरशिक्षातर्फ केन्द्रित भैरहेको छ। यस्तो अवस्थामा यसलाई शैक्षिक च्यानलका रुपमा स्थापित गर्न सके मुलुकका लागि उपलब्धिमूलक हुन जानेछ। यस्तै हाल प्रादेशिक च्यानलका रुपमा सञ्चालन भैरहेका एनटिभी कोहलपुर तथा एनटिभी इटहरि जस्ता च्यानललाई क्रमश: प्रदेश सरकारलाई हस्तान्तरण गर्न सकिएको खण्डमा ति च्यानल वास्तवमै प्रदेशमुखी हुन सक्ने अपेक्षा गर्न सकिन्छ।
अपेक्षित भूमिका
मुलुकमा राष्ट्रिय एकता, सामाजिक तथा सांस्कृतिक सदभाव कायम गर्न नेपाल टेलिभिजनका च्यानलहरूले प्रमुख भूमिका खेल्नु पर्दछ। जनताका प्रत्यक्ष सरोकार भएका विषयहरूलाई तत्काल सम्बोधन गर्न छोडनु हुँदैन। शिक्षा, स्वास्थ्य, कृषि, बन, लगायतका महत्वपूर्ण विषयहरूको नियमित कार्यक्रम सञ्चालन हुनु जरुरी छ। दर्शकहरुलाई सूचना दिने, शिक्षा दिने, मनोरञ्जन दिने तथा प्रोत्साहित गर्ने मूल कर्तव्यबाट पनि विचलित हुनु हुँदैन।
रेडियो नेपालले हाल विभिन्न २५ भाषामा समाचार तथा २१ भाषामा कार्यक्रम प्रसारण गरिसकेको भएपनि नेपाल टेलिभिजनले हालसम्म केही सिमित भाषामा कार्यक्रम तथा एनटिभी न्युजले नेपालका ४ भाषामा मात्र समाचार प्रसारण गरिरहेकोले अन्य भाषामा पनि समाचार र कार्यक्रम बढाउँदै लैजानु पर्ने देखिएको छ।
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/Pashupati-live-NTV-2616-1-scaled.jpg)
नेपाल टेलिभिजनको पहुँच विस्तार पनि जरुरी मानिएको छ। नेपाल टेलिभिजनको पहुँच हालसम्म मुलुकको सबै भू-भाग र जनताहरु समक्ष पुग्न सकेको छैन। नेपाल टेलिभिजनले भू-सतही प्रसारणमार्फत ७२ प्रतिशत नागरिक तथा ५० प्रतिशत भूभागमा आफ्नो प्रसारण पुगेको जनाएको छ। सार्वजनिक प्रसारण सेवा सम्बन्धी नयाँ ऐनले नागरिकको सूचनाको हक अनुसार मुलुकको सबै भूभागमा प्रसारण पहुँच पुर्याउने प्रतिवद्धता व्यक्त गरे अनुसार यो कार्य अघि बढाउनुपर्ने चुनौति थपिएको छ।
त्यसो त प्रविधिमा आएको व्यापकतासँगै नेपाल टेलिभिजनले आफूलाई डिजिटल प्लाटफर्ममार्फत अघि बढाइरहेको छ । नेपालटिभीअनलाइन र अरु सामाजिक सञ्जालमार्फत सामाग्रीहरु पस्कँदै आएको नेपाल टेलिभिजनका डिजिटल प्रसारण माध्यमहरु थप बलियो र शशक्त बनाउँदै लैजानुपर्ने टड्कारो आवश्यकता छ ।
सम्पादकीय स्वतन्त्रता
सार्वजनिक सेवा प्रसारण विधेयक सङ्घीय संसद् अन्तर्गतका प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा प्रस्तुत हुँदा सांसदहरुले सम्पादकीय स्वतन्त्रतामा जोड दिनु भएको थियो। सरकार अन्तर्गत रहेका नेपाल टेलिभिजन र रेडियो नेपाल गाभिएपछि स्वतन्त्र रुपमा सञ्चालन हुने कुरामा कतिपय सांसदले आशंका व्यक्त गर्नु भएको थियो।
यसलाई संसद अन्तर्गत सञ्चालन गरिनु पर्ने कुरा पनि संसदमा उठेको थियो। संचार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षतामा सार्वजनिक सेवा प्रसारण संस्थाको परिषद गठन हुने, सरकारले बजेट दिने, कार्यकारी प्रमुख सरकारले नियुक्त गर्ने जस्ता कारणले यस संस्थालाई स्वायत्त बनाउन नसकिने जस्ता विषयमा पनि प्रश्न उठेका थिए। संसदमा दर्ता भएको ३ वर्षपछि यो विधेयक पारित भएको थियो।
सार्वजनिक प्रसारण सेवाले सम्पादकीय स्वतन्त्रतालाई उच्च प्राथमिकता दिनु पर्दछ। नेपाल टेलिभिजन जस्ता सञ्चार माध्यम निष्पक्ष हुनु जरुरी मानिन्छ। यसका समाचारहरू विश्वसनीय हुनु पर्दछ। सरकारी र व्यापारिक दबावबाट मुक्त समाचार तथा कार्यक्रमहरूले व्यापक रुपमा दर्शकहरूलाई समेट्न सक्नु पर्दछ।
सार्वजनिक सेवा प्रसारण संस्था सम्बन्धी ऐनले कार्यकारी समितिलाई दिएको काम, कर्तव्य रअधिकारमा सम्पादकीय स्वतन्त्रता र निष्पक्षताको संरक्षणका लागि आवश्यक कार्यगर्न निर्देशन दिएको छ।
सम्पादकीय स्वतन्त्रता कायम गरी जनताको तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना,समाचार र मनोरन्जनात्मक कार्यक्रम हेर्न, सुन्न र पढने अधिकारको रक्षा गर्ने पनि निर्देशन दिईएको छ।
तर सम्पादकीय स्वतन्त्रता प्रति नेपालटेलिभिजनका दर्शकहरूलाई आश्वस्त बनाउन तत्कालै व्यवहारमा पनि लागु गरेर अभ्यासको थालनी गर्नु पर्दछ।
यसैगरी समाचार तथा कार्यक्रमलाई गुणस्तरयुक्त बनाउन दिइएको निर्देशनले आगामी दिनमा नेपाल टेलिभिजनको स्क्रिनमा सुधार हुने अपेक्षा गर्न सकिन्छ।
विज्ञका धारणा
लोकतन्त्र र सार्वजनिक सेवा प्रसारण संस्थालाई सँगसँगै लैजानु पर्ने आवश्यकता महसुस गरिएको छ। यसक्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारी हस्तक्षेपबाट मुक्त गर्दै लैजानु पर्ने देखिन्छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ सार्वजनिक प्रसारण सेवा संस्थाले सरकारको मुख ताक्न नहुने कुरामा जोड दिनु हुन्छ।
त्रिभुवन विश्व विद्यालय पत्रकारिता केन्द्रीय विभागमा आयोजित सार्वजनिक सेवा प्रसारण संस्था सम्बन्धी संवाद कार्यक्रममा उहाँले सरकारको अनुदानमा बाच्ने सञ्चार माध्यम स्वतन्त्र हुन नसक्ने धारणा व्यक्त गर्नुभएको थियो। सार्वजनिक प्रसारण सेवा संस्थाको काम प्रभावकारी रूपले सञ्चालन गर्न बनाइने कोषमा नेपाल सरकारबाट प्राप्त अनुदान रहने व्यवस्था गरिएको छ।
यसैगरी संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त हुने अनुदान, विदेशी सरकार वा विदेशी संघ संस्थाबाट प्राप्त हुने रकम तथा सार्वजनिक प्रसारण सेवा संस्थाको आम्दानीबाट प्राप्त हुने रकम कोषमा जम्मा गरिने व्यवस्था छ।
अर्कोतर्फ, वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दहाल सार्वजनिक प्रसारण सेवा संस्थाका लागि कमजोर कानून, जनशक्तिको रूपान्तरण, आर्थिक श्रोतको अनिश्चितता, बजारमाथिको निर्भरता, जन सरोकारका गुणस्तरीय सामाग्रीको उत्पादन जस्ता चुनौति देखिएको बताउनुहुन्छ।
वरिष्ठ सञ्चार विज्ञ डाक्टर रघु मैनाली सार्वजनिक सेवा प्रसारणमा घाम जस्तै सबैको पहुँच हुनुपर्ने तथा यसको प्रसारण नि:शुल्क हुनु पर्ने पक्षमा हुनुहुन्छ।
त्रिभुवन विश्व विद्यालयको केन्द्रीय पत्रकारिता विभागका उप प्राध्यापक डाक्टर घमराज लुँइटेलले सार्वजनिक सेवा प्रसारणको सञ्चालक समितिका पदाधिकारीहरू सरकारले हटाउन सक्ने भएकोले यसको संरचना फितलो भएको धारणा व्यक्त गर्नुभएको छ।
सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने भने संस्थाका लागि सरकारबाट आर्थिक सहयोगको अपेक्षा गर्नुहुन्छ। नेपाल सरकारबाट आर्थिक सहयोग प्राप्त भएमा सार्वजनिक प्रसारण सेवा संस्थाका कार्यहरू सहज रुपमा सम्पन्न गर्न सकिने न्यौपानेको भनाइ छ।
बिर्सन नहुने
कुनै दिन नेपाल टेलिभिजन हेर्नै पर्ने च्यानलका रुपमा नेपाली दर्शकहरू माझ स्थापित भएको थियो। प्रारम्भिक दिनहरूमा नेपाली भाषामा बनेका टेलिचलचित्रहरू निक्कै लोकप्रिय भएका थिए। विशेषगरी, हाँस्य प्रधान टेलिचलचित्रहरूले नेपाली दर्शकहरूलाई प्रभावित बनाएका थिए।
यसैगरी, रामायण, महाभारत जस्ता हिन्दी सिरियल, पाकिस्तानी सिरियल जस्ता कार्यक्रम पनि नेपाली दर्शकहरूले रुचाएका थिए। कुनै दिन नेपाल टेलिभिजनले शनिवार दिउँसो चलचित्र प्रसारण गरेपछि काठमाडौँका सडक नै सुनसान हुने गर्दथ्यो। फिफा विश्वकप फुटबल, गृष्मकालीन ओलम्पिक, एशियाली खेलकुद, दक्षिण एशियाली खेलकुद जस्ता खेलकुदको प्रत्यक्ष प्रसारण तथा हाईलाईट्सले पनि नेपाल टेलिभिजनको दर्शकहरू बढाएको थियो।
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/e2a2a094-a5ea-43ba-83a7-d0ae37e1d8b6.jpeg)
विभिन्न समसामयिक कार्यक्रम तथा वृत्तचित्रहरू पनि नेपाल टेलिभिजनका आकर्षण थिए। आम दर्शकहरूले विश्वसनियताका लागि नेपाल टेलिभिजनको समाचार हेर्ने गरेकाले संस्थाकै साख बढ्न गएको थियो। आगामी दिनमा पनि विगतको लोकप्रियताको इतिहासलाई गुम्न नदिन सार्वजनिक सेवा प्रसारण संस्थाका सम्बन्धित अधिकारीहरूले विशेष ध्यान दिनु जरुरी छ।
खेलकुदको सन्दर्भ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौँमा केही समय अघि सम्पन्न नेपाल प्रिमियर लिग (आइपिएल) क्रिकेटका साथै फुटबल लगायतका खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको थियो।
नेपाल टेलिभिजनले विगतमा सन १९८६ देखि नै फिफा विश्वकप फुटबल, ओलम्पिक, एशियाली खेलकुद, दक्षिण एशियाली खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्दै आइरहेको थियो। तर यस्ता खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नका लागि ठूलो लगानीको आवश्यकता पर्दछ।
नेपालमा टेलिभिजनको सङ्ख्या बढेर विज्ञापनको बजार साँघुरो हुँदै जाँदा नेपाल टेलिभिजनको आय कम हुँदै गएको छ। यसको प्रत्यक्ष मार नेपाली दर्शकहरूलाई पर्न गयो। उनीहरूले आफ्नो भूमिमै भएको खेल हेर्न विदेशी च्यानलको भर पर्नुपर्ने अवस्था सिर्जना भएको थियो।
विभिन्न मुलुकमा सार्वजनिक प्रसारण गर्ने टेलिभिजनलाई महत्वपूर्ण खेलकुदका प्रसारणको सिग्नल उपलब्ध गराउनु पर्ने नियम रहेको छ। भारतमा कुनै पनि खेलकुद प्रसारण सम्बन्धी सिग्नल प्रसार भारतीलाई पनि उपलब्ध गराउनु पर्ने नियम रहेको छ।
भारतको राष्ट्रिय टेलिभिजन दूरदर्शन प्रसार भारती अन्तर्गत सञ्चालित छ। कुनै पनि प्रसारण संस्थाले राष्ट्रिय महत्वका खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारणको सिग्नल सार्वजनिक प्रसारण संस्थालाई उपलब्ध गराउनु पर्ने भारतमा व्यवस्था रहेको छ। यसरी सिग्नल उपलब्ध गराउँदा विना विज्ञापन उपलब्ध गराउनु पर्नेछ। प्रसार भारतीले सो सिग्नल डिटिएच नेटवर्क वा टेरिष्ट्रियल प्रसारणमार्फत पुन: प्रसारण गर्न पाउने व्यवस्था छ।
बेलायतमा पनि केही निश्चित खेलकुद प्रतियोगिता पैसा तिर्नु नपर्ने तथा ९८ प्रतिशत दर्शकहरु समक्ष प्रसारण पहुँच भएको टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण गर्नु पर्ने नियम रहेको छ। नेपालमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका खेलकुद प्रसारण गरिँदा नेपाल टेलिभिजनलाई सिग्नल उपलब्ध गराउनु पर्ने नियम तर्जुमा गर्न सकिएको खण्डमा नेपाली दर्शकहरु लाभान्वित हुनेछन।
नेपाल टेलिभिजनले पनि साधारण एण्टेनाबाटै यस्तो प्रसारण दर्शकहरूलाई देखाउने व्यवस्था गर्नु पर्दछ। सार्वजनिक प्रसारण सेवा सम्बन्धी ऐनमा प्रसारण फ्रिक्वेन्सीको पहिलो प्राथमिकता सार्वजनिक सेवा प्रसारण संस्थालाई दिनुपर्नेउल्लेख छ। नेपाल सरकारले सार्वजनिक सेवा प्रसारण संस्थालाई उपलब्ध गराउने प्रसारण शुल्कमा कुनै शुल्क नलाग्ने व्यवस्था पनि गरेको छ।
एनटिभी वर्ल्डको सञ्चालन
पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले २०७६ साल माघ १७ गते सुनसरीस्थित एनटिभी इटहरिको उद्घाटनका अवसरमा अङ्ग्रेजी च्यानल एनटिभी वर्ल्ड छिटै सुरु गरिने घोषणा गर्नु भएको थियो।
कोरोना भाइरसको सङ्क्रमण भयावह रुपमा बढदै गएपछि यो कार्य ओझेलमा पर्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीको त्यसबखतको कार्यकाल समाप्त भएपछि बनेका सरकारहरूले त्यस कार्यलाई त्यति प्राथमिकता नदिनाले एनटिभी वर्ल्डको तयारी अघि बढेन। नेपाल सरकारबाट २०७८ सालमा बजेट बिनियोजन भैसकेको अवस्थामा पनि एनटिभी वर्ल्ड सुरु हुन सकेन।
आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक वर्षमा नेपाल सरकारद्वारा प्रस्तुत बजेट वक्तव्यमा ‘नेपाल टेलिभिजनको प्रसारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनटिभी वर्ल्ड च्यानल सञ्चालनमा ल्याइनेछ ‘ भनी उल्लेख गरिएको थियो। यसरी अन्तर्राष्ट्रिय जगतमा नेपालको आवाज लैजाने लक्ष्य राखिएको नयाँ च्यानल जन्मन नपाई ओझेलमा परिरहेको छ ।
तर रेडियो नेपाल र नेपाल टेलिभिजन एकिकृत भएर सार्वजनिक सेवा प्रसारण संस्थाको रुपमा परिणत भएपछि नयाँ च्यानल एनटिभी वर्ल्डलाई पनि कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी अब संस्थामा नियुक्त पदाधिकारीहरूको काँधमा थपिएको छ।
राष्ट्रिय दायित्व
नेपाल टेलिभिजनको पहिलो प्राथमिकता आम नेपाली नागरिक हुनु पर्दछ। विगतको जस्तै नेपाल टेलिभिजन अन्तर्गत सञ्चालन भैरहेका सबै च्यानलहरू नेपालीहरूले विना शुल्क अर्थात साधारण एन्टेनाबाट हेर्न पाउनु पर्दछ। यसका लागि यथोचित प्राविधिक बन्दोबस्त मिलाउनु सरकारको दायित्व हो।
मुलुकमा व्याप्त भ्रष्ट्राचार, ढिलासुस्ती जस्ता समस्या कम गर्दै लैजानका लागि स्वच्छ आलोचनाको माध्यमबाट यी सञ्चार माध्यमले उपयुक्त भूमिका खेल्न सक्नेछन्।
सुशासन तथा राष्ट्रिय विकास प्रकृयामा यी माध्यमको भूमिका महत्वपूर्ण हुन सक्दछ। यसलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गराउनु पर्छ र भागबन्डाको थलो बनाइनु हुन्न। व्यावसायिक पत्रकार तथा सञ्चारकर्मीहरूको साझा थलोको रुपमा यसलाई विकास गरिनु पर्छ।
नेपाल टेलिभिजनलाई विश्वसनीय सञ्चार माध्यमका रुपमा स्थापित गर्न सक्नु पर्छ।
आवाजविहीनहरूको आवाजको रुपमा कुनै पनि प्रकारको हस्तक्षेपमुक्त माध्यम बनाउन सके हजारौँ नेपाली सञ्चार माध्यमहरूको भिडमा नेपाल टेलिभिजन गरिमामय सञ्चार माध्यमका रुपमा स्थापित भइरहने निश्चित छ ।
(लेखक सिलवाल नेपाल टेलिभिजनको निर्देशकबाट सेवा निवृत्त हुनुभएको हो भने फोटो सौजन्यकर्ता चित्रकार नायव महाप्रवन्धकबाट सेवा निवृत्त हुनुभएको हो ।)
प्रतिक्रिया राख्नुहोस्