नेपाल टेलिभिजन आजदेखि ४१औं वर्षमा प्रवेश
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/385784034_10227538795008207_4990417261628864561_n.jpg)
काठमाडौं- प्रसारण पत्रकारिताको विश्वविद्यालयका रुपमा रहेको मुलुकको पहिलो टेलिभिजन नेपाल टेलिभिजन आजदेखि ४१ औं वर्षमा प्रवेश गरेको छ ।
नीति, प्रविधि, प्रवृत्ति र अभ्यासमा आएको परिवर्तनलाई आत्मसात् गर्दै आएको नेपाल टेलिभिजनले सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएसँगै राज्यप्रति झन् बढी जवाफदेही र नागरिकप्रति अझ धेरै जिम्मेवार हुने प्रण गरेको छ ।
२०४१ माघ १७ गते विकासका लागि सञ्चार भन्ने नारासहित एउटा परियोजनाका रुपमा सुरु भएको नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन प्रसारणसँगै देशको अग्रणी श्रव्यदृष्य प्रसारण संस्था हो ।
अहिले नेपालमा हेरिने तमाम टेलिभिजन च्यानलको जननी नेपाल टेलिभिजन प्रसारण पत्रकारिताको विश्वविद्यालय पनि हो । नेपाल टेलिभिजन, एनटिभी प्लस, एनटिभी न्यूज, एनटिभी कोहलपुर र एनटिभी इटहरी नेपाली मनका ढुकढुकी त हुँदै हुन्, निष्पक्ष, तटस्थ र तथ्यपरक सूचनाका श्रोतहरु पनि हुन् ।
नेपाल टेलिभिजन र यसका प्रादेशिक च्यानलहरु राष्ट्रियता, भौगोलिक अखण्डता र सामाजिक सद्भावका आधारसँगै मुलुकको प्रादेशिक संरचनाका बलिया सारथी हुन् ।
नेपाल टेलभिजन देशका निकटदेखि विकट भूगोल सम्मका सवै जाती, भाषा, धर्म, संस्कृति र सम्प्रदायका आवाज र अनुहार देखिने राष्ट्रिय प्रसारण माध्यम हो ।
नेपाल टेलिभिजनको पहुँच डिजिटल प्रविधि र प्लेटफर्म एवं भूउपग्रहमार्फत् अहिले विश्वभर रहेको छ । युएचएफ प्रविधिबाट सुरु भएको नेपाल टेलिभिजनका सबै च्यानलहरु २०७५ सालमा एचडी प्रविधिमा रुपान्तरण भए ।
त्यसलगत्तै सबै च्यानललाई अनलाइन माध्यम र डिजिटल प्लेटफर्मका विविध स्वरुपमा विस्तार गरिएको छ । पाँचवटै च्यानल आज बहुलता र विविधतालाई आत्मसात् गर्दै एचडी प्रविधिमा प्रसारित छन् ।
भूकम्प लगायतका प्राकृतिक विपत्ति र कोभिड-१९ लगायतका महामारीको समयमा सही सूचना र जनचेतनाका माध्यमबाट नागरिकको जीवन रक्षाका लागि नेपाल टेलिभिजनले निर्वाह गरेको भूमिका अविस्मरणीय छ ।
नेपालमा २०४० पछिको विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनको साक्षी रहेको नेपाल टेलिभिजन परिवर्तनलाई आत्मसात् गर्दै नीति र अभ्यासमा रुपान्तरित हुँदै आएको छ ।
विश्वमा सार्वजनिक सेवा प्रसारणले करिव एक शताब्दी लामो इतिहास बनाइसकेको पृष्ठभूमिमा संघीय संसदबाट सार्वजनिक सेवा प्रसारण विधेयक पारित भएसँगै नेपालको प्रसारण इतिहासमा नयाँ अध्याय सुरु भएको छ ।
संविधानप्रदत्त मौलिक हकको प्रत्याभूत गर्दै नागरिकलाई केन्द्रमा राखेर राष्ट्रिय एकता, मुलुकको समृद्धि र विपद्को सूचना सम्प्रेषणलाई पहिलो प्राथमिकताका रुपमा आत्मसात् गर्दै सार्वजनिक सेवा प्रसारण (पिएसवी नेपाल) को रुपमा नेपाल टेलिभिजन आफ्नो लक्ष्य प्राप्तिको यात्रामा निरन्तर अघि बढ्दैछ ।
नेपालको प्रसारण पत्रकारितामा नयाँ इतिहासको रचना गर्दै जन्मिएको र गौरवपूर्ण विरासत निर्माण गरेको नेपाल टेलिभिजनले चार दशकको यात्रा योबेला पूरा गर्दैछ, जुन बेला नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएको छ ।
चार दशकको यो परिपक्व यात्रामा अघि बढिरहेको बेला सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएसँगै नेपाल टेलिभिजन राज्यप्रति झन् बढी जवाफदेही र नागरिकप्रति अझ धेरै जिम्मेवार हुने प्रण गर्दछ ।
प्रतिक्रिया राख्नुहोस्