गोरखामा पहिलो पटक अल्ट्रा म्याराथन र्याफ्टीङ प्रतियोगिता सुरु
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/IMG-20250129-WA0028.jpg)
गोरखा- प्रसिद्ध धार्मिकस्थल मनकामना र देवघाटलाई जोड्ने गरी ‘अल्ट्रा र्याफ्टीङ म्याराथन ’प्रतियोगिता शुरु भएको छ । बुधबार गण्डकी गाउँपालिका– ६ भुम्लीचोकबाट प्रतियोगिताको आरभ्भ गरिएको हो ।
फिस्लीङस्थित त्रिशुली नदिबाट देवघाटस्थित नारायणी नदिसम्म भएको अल्ट्रा र्याफ्टीङ म्याराथन प्रतियोगिता दुई दिनसम्म चल्ने छ ।
पहिलो दिन फिस्लीङस्थित त्रिशुली नदिबाट सिमल तालसम्म प्रतियोगिले प्रतिस्पर्धा गरेका छन् । आज सिमलतालबाट देवघाटसम्म प्रतिस्पर्धा हुने आयोजक प्रदेश खेलकुद परिषद गण्डकीका साहसिक खेलकुद संयोजक वसन्तराज दवाडीले जानकारी दिनुभयो ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा एक र्याफ्टीङ वोटमा सात जना रहने गरी ६ टीमका ४२ जनाले सहभागिता जनाएका छन् । कोशी, वाग्मती तथा गण्डकी प्रदेश र विभागीय (नेपाली सेना)का २/२ टिम रहेका छन् ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले स्टार्टीङ र इन्डीङसम्मको समयको आधारमा विजेता घोषणा गरिने खेलकुद संयोजक दवाडीले बताउनुभयो ।
फिस्लीङबाट देवघाटसम्म ५० किलोमिटर क्षेत्रमा हुने प्रतियोगिता दुई जिल्लाको दुई धार्मिक स्थललाई पर्यटकीय खेल गतिविधिसँग जोड्ने मुख्य उदेश्यसहित धार्मिक स्थललाई जोड्दै साहसिक खेलकुदको गन्तब्य बनाउन प्रतियोगिताको आयोजना गरिएको आयोजले जनाएको छ ।
पहिलो पटक भएको अल्ट्रा म्यारथन र्याफ्टीङ प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, दोस्रोले ४० हजार, तेस्रोले २० हजार र सान्त्वना हुनेले १० हजार पुरस्कार पाउने छन् । साथै दुइ सातापछि हुने राष्ट्रिय खेलको छनौट प्रतियोगितामा पनि सहभागी गराउने पाउने छन् ।
विहिबार प्रतियोगिताका विजेता घोषणा गरी देवघाटमा पुरस्कार वितरणको कार्यक्रम तय गरिएको छ ।
शुक्रबार भने नारायणी नदिमा देवघाटबाट नवलपुरको देवचुलीसम्म कायक प्रतियोगिता हुनेछ । २७ किलोमिटर क्षेत्रमा हुने कायक प्रतियोगिताका लागि २७ जना सहभागी हुने छन् । कायक प्रतियोगितामा भने व्यक्तिगत रुपमा सहभागी हुन पाउनेछन् ।
कायक प्रतियोगितामा पहिलो दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ३० हजार, २० हजार, १० हजार, ५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतिक्रिया राख्नुहोस्