नेपाल टेलिभिजन, प्रविधि रुपान्तरण र सार्वजनिक सेवा प्रसारण

काठमाडौँ- सन् १९२७ मा इलेक्ट्रोनिक टेलिभिजन आविष्कार भएसँगै टेलिभिजन प्रविधिको विकास द्रुत गतिले अघि बढिरहेको छ । बेलायतको BBC ले सन् १९३६ र अमेरिकाले सन् १९३९ देखि नियमित प्रसारण सुरु गरेको भएपनि धेरैजसो मुलुकहरुले सन् १९५० देखि टेलिभिजन प्रसारण सुरु गरेका हुन् ।
नेपालमा भने आविष्कारको करिब ५८ वर्ष पछि २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन परियोजनाको रुपमा स्थापना भयो ।परियोजना स्थापनाको केही महिना पश्चात २०४२ श्रावण २९ मा लाजिम्पाट भवनबाट सफलतापूर्वक परीक्षण प्रसारण गरिएको र पछि Transmitter प्रयोग गरी सिंहदरवार स्टुडियोबाट पौष १४, २०४२ सालमा १०० watt क्षमतामा दैनिक २ घण्टा प्रसारण सुरु भयो ।
हाल NTV, NTV Plus, NTV NEWS, NTV कोहलपुर, NTV इटहरी गरी ५ वटा च्यानलबाट तथा भू-उपग्रहमार्फत २४सै घण्टा प्रसारण भैरहेको साथै देशका विभिन्न भागमा अवस्थित १९ वटा रिले केन्द्रहरुबाट नेपाल टेलिभिजनको भू-सतही प्रसारणले ५२% भौगोलिक क्षेत्र समेटेको छ भने ७२% जनघनत्व ओगटेको छ ।
यसैगरी, Digital platform, Mobile Apps, Web streaming: www.nepaltvonline.com मार्फत विश्वभर प्रत्यक्ष रुपमा नेपाल टेलिभिजनका संकेतलाई हेर्न र सुन्न सकिन्छ ।
VHS प्रविधिबाट सुरु भएको नेपाल टेलिभिजनको प्रसारण S-VHS, U- matic Beta cam-SP, Beta-SX, DVcam हुदै Digital workflow प्रविधिमा र अहिले पूर्ण रुपमा High Definition (HD) प्रविधिमा रुपान्तरण भैसकेको छ। यसैगरी, भू-उपग्रह प्रसारणमा DVB-S2 र भू-सतही प्रसारणमा DVB-T2 प्रविधि प्रयोग भैरहेको छ।
भू-सतही (Terrestrial) प्रसारण प्रविधि
सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनको संकेतलाई देशका दूरदराजसम्म सर्वसुलभ माध्यमबाट निःशुल्क रुपमा आम नागरिकको पहुँचमा प्रसारण पुर्याउनु यो प्रविधिको लक्ष्य हो । सिंहदरवारबाट प्रसारण आरम्भ गरेको नेपाल टेलिभिजनले आज देशका विभिन्न १९ स्थानका भू-सतही प्रसारण केन्द्रहरुबाट प्रसारण सेवा दर्शकसम्म पुर्याइरहेको छ र यसको प्रसारण विस्तार निरन्तर रूपले अघि बढिरहेको छ ।
Analog प्रविधिवाट सुरु भएको प्रसारण विस्तारको क्रममा फ्रान्स सरकारको सहयोगमा कास्कीको सारङ्कोट, नवलपरासीको दाउन्ने, धनकुटाको नाम्जे, महोत्तरीको जलेश्वरमा भू-सतही प्रसारण केन्द्रहरुको स्थापना भएको हो ।
संचार तथा सूचना प्रविधि मन्त्रालयवाट Digital प्रविधिमा रुपान्तरण गर्न International Telecommunication Union (ITU) को सहयोगमा कार्यदल गठन भई Digital Terrestrial Transmission (DTT) अन्तर्गत DVB-T2 (Digital Video Broadcasting Terrestrial 2nd Generation) प्रविधिमा रुपान्तरण कार्य योजना बन्यो । त्यसै अनुरूप पहिलो चरणमा नेपाल टेलिभिजनका प्रसारण केन्द्रहरु सिंहदरवार, फूल्चोकी, ककनी, सराङ्कोट, नाम्जे, तेह्रथुम, चमेरे, जुम्लामा विभिन्न क्षमताका DVB-T2 ट्रान्समिटरहरु जडान भै प्रसारण भैरहेको छ ।
यसैगरी, दोस्रो चरणमा इलाम, जलेश्वर, हेटौडा, दाउन्ने, गुल्मी, गोरखा, पाल्पा, दाङ, रोल्पा, बुढीतोला, डोटी प्रसारण केन्द्रहरुमा ट्रान्समिटर जडान भई प्रसारण सुरु भएको छ ।
Analogue TV Set मार्फत हेर्न सुन्न Set-top-Box को आवश्यक पर्ने Digital भू-सतही प्रसारणलाई सर्वसुलभ सवैको पहुँचमा पुर्याउन सो Set-top-Box सहज उपलब्ध हुन नसकिरहेको एवं सो को व्यवस्थापन गर्न ठूलो धनराशी खर्च गनुपर्ने भएकोले सम्बन्धित पक्षको समन्वय र सहयोगको भूमिका अनिवार्य छ । यस प्रविधिको प्रसारणवाट विभिन्न प्राविधिक फाइदा भइरहेको साथै यसबाट विशेषगरी प्राकृतिक विपद न्यूनीकरणको लागि प्रसारणमा Pre-warning System प्रयोग गरी ठूलो धनजनको क्षतिलाई न्यूनिकरण गर्न सकिनेछ ।
भू-उपग्रह (Satellite) प्रसारण प्रविधि
देशको भौगोलिक विकटताले गर्दा भू-सतही (Terrestrial) प्रसारणको पहुँच पूर्ण रुपले देशभित्र पुर्याउन असम्भव नै छ । यसको विकल्प भनेको भू-उपग्रह प्रसारण हो । नेपाल टेलिभिजनले भू-उपग्रह प्रसारणमार्फत प्रसारण केन्द्रहरुलाई गुणस्तरीय संकेतबाट आवद्ध गर्न 1st July, 2001 बाट नेपाल टेलिकमको बलम्वु अर्थ स्टेशनलाई प्रयोगमा ल्याइएको थियो ।
त्यसैगरी, 1st July, 2007 बाट सिंहदरवार स्थित आफ्नै Teleport बाट भू- उपग्रह प्रसारण सुरु गर्यो । सुरुमा DVB-S प्रविधि भएकोमा प्रसारणको केही वर्षपछि DVB-S2 (Digital Video Broadcasting- Satellite 2nd Generation) प्रयोग गरी एउटा channel प्रसारण गर्दा 9 MHz (Mega Herz) प्रयोग भैरहेकोमा 4.5 MHz – 5 MHz Bandwidth प्रयोग भएसँगै विदेशी मुद्रामा भुक्तानीलाई आधा रकम मात्र तिर्दा हुने भयो जसबाट संस्थानलाई मनग्य आर्थिक लाभ पुगिरहेको छ।
Digital Satellite News Gathering (DSNG) प्रविधि
शुरुवाती कालखण्डमा नेपाल टेलिभिजनमार्फत कुनै पनि घटना, विशेष समारोह र मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रत्यक्ष प्रसारण गरी देशका विभिन्न स्थानबाट जस्ताको तस्तै तत्काल पुर्याउन ज्यादै चुनौति थियो ।
काठमाण्डौँ उपत्यका भित्र हुने कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण Microwave उपकरणमार्फत हुने गर्दथ्यो । क्रमिक रुपमा प्रविधिको विकाससँगै प्रविधिलाई आत्मसात गर्दै नेपाल टेलिभिजनले पनि सन् 2008 मा Digital Satellite News Gathering (DSNG) Fly-Away उपकरणलाई प्रयोगमा ल्यायो ।
यसबाट देशको कुनै पनि कुनाका घटना र आयोजना, शान्ति प्रकृयाको महत्वपूर्ण हस्ताक्षर कार्यक्रम, सर्वोच्च शिखर सगरमाथा कालापत्थरमा भएको नेपाल सरकार मन्त्रिपरिषद् वैठक, प्रधानमन्त्री केपी ओलीको मुगुस्थित रारा तालबाट भएको सम्बोधन लगायत देशका दुर्गम भागहरुमा हुने गरेका महत्वपूर्ण कार्यक्रमहरुलाई देशभित्र र अन्तर्राष्ट्रिय जगतमा पुर्याउने सफलता प्राप्त भयो ।
सगरमाथाको आधार शिविर कालापत्थरमा (4th December, 2009) भएको मन्त्रिपरिषद्को बैठकलाई नेपाल टेलिभिजनले स्याङ्वोचेबाट प्रत्यक्ष प्रसारण गरेको थियो ।
नेपाल टेलिभिजनको उक्त प्रत्यक्ष प्रसारणलाई विश्वका करिव ४०० अन्य च्यानलहरुले समेत प्रत्यक्ष प्रसारण गरेका थिए । नेपाल टेलिभिजनबाट साभार गरी यसको प्रसारण संकेतलाई विश्वभर एकै चोटी यति धेरै च्यानलहरुले प्रयोग गरेको नेपालको प्रसारण इतिहासमा सम्भवत पहिलो घटना हो।
विदेशी संस्थाहरुको समेत पहिलो रोजाइमा परेको यस उपकरणको प्रयोगबाट नेपाल टेलिभिजनले पनि मनग्ये रूपमा आर्थिक आय आर्जन गरिराखेको छ ।
Tapeless Workflow प्रविधिको विकास
नेपाल टेलिभिजनमा Recording Transmission को लागि विभिन्न Formats को प्रयोग भयो । उत्पादनका लागि VHS, SVHS, U-matic, Betacam-SP, Beta-SX, DVCAM Format हरुको प्रयोग भएको थियो ।
हाल Recording, Ingest Playout, Storage को लागि Tapeless Workflow प्रयोगमा छ, जसलाई Digital File Based workflow प्रणाली पनि भन्ने गरिन्छ । यस प्रविधिलाई नेपाल टेलिभिजनले विगत एक दशकदेखि प्रयोगमा ल्याएको हो ।
आउने दिनहरुमा यसलाई थप परिमार्जित गर्दै उन्नत एवं नविनतम प्रयोग मार्फत Contribution System लाई प्रभावकारी बनाउनु पर्ने छ भने नेपाल टेलिभिजनले समय सापेक्ष Production, Contribution, Transmission मा निरन्तर नविनतम प्रविधिहरु प्रयोगमा ल्याइरहेको छ । On-Air Graphic System, 3G/4G Live उपकरणले प्रसारणलाई थप प्रभावकारी बनाएको छ ।
आगामी योजना
२०८१ कार्तिक २३ देखि रेडियो नेपालसँग एकिकृत भई नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएको छ ।
अब नेपाल टेलिभिजनले सार्वजनिक सेवा प्रसारण ऐन २०८१ ले निर्दिष्ट गरे अनुसार सार्वजनिक सेवा प्रसारणको गुणस्तर कायम राख्दै यसको पहुँचलाई देश भित्र सर्वसुलभ रूपमा पुर्याउनु पर्नेछ ।
नागरिकप्रति उत्तरदायी बन्दै राज्यप्रतिको जवाफदेहिता निर्वाह गर्नु नेपाल टेलिभिजनको अबको लक्ष्य भएकाले यसका लागि प्रविधिमा रुपान्तरण गरी नविनतम प्रविधि प्रयोग गर्नुको विकल्प छैन ।
आगामी दिनमा सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनले ट्रान्समिसनमा 4K, IPTV, Digital Based work flow लगायत Artificial Intelligence (AI) को प्रयोग समेतलाई आत्मसात गर्दै उत्पादन र प्रसारणलाई गुणस्तरीय एवं प्रभावकारी बनाउनु पर्नेछ ।
विशेष गरी Linear Television को प्रभावकारिता घट्दै गइरहेको अवस्थामा Digital Platform को सर्वव्यापकतालाई ध्यान दिँदै यसलाई प्रभावकारी बनाउन कार्य योजना तयार गरी सो को कार्यान्वयन गर्न सके यसबाट आर्थिक हिसाबले आत्मनिर्भर भई संस्थाको सहज एवं दिगो सञ्चालनमा मद्दत पुग्ने छ ।
( लेखक न्यौपाने सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)
प्रतिक्रिया राख्नुहोस्