हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मेलन हुने

काठमाडौँ –  हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि ३ गतेसम्म काठमाडौँमा सम्मेलन आयोजना हुने भएको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाका अनुसार हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञान परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने, बहुभाषिक एवम् बहु सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना गर्न लागिएको हो ।

डा. सुब्बाका अनुसार सम्मिलनमा मुलुकका सात ओटै प्रदेशका साथै भारत, चीन, बङ्गलादेश, म्यानमार, भुटान, थाइल्यान्डलगायतका देशबाट नेपाली लोकसंस्कृतिसम्बन्धी सम्बन्धित मुलुकका विज्ञद्वारा कार्यपत्र प्रस्तुत गरिने छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति’का सम्बन्धमा, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङद्वारा ‘हिमवत्खण्डको सांस्कृतिक वैशिष्ट्य’का सम्बन्धमा र सिक्किमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङद्वारा ‘हिमवत्खण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’का बारेमा विशेष प्रवचन हुने छ । डा. सुब्बाले भन्नुभयो “यसका साथै हिमवत्खण्डमा नेपाली भाषाको अवस्था, हिमवत्खण्डको संस्कृति र विश्वव्यापीकरण एवम् हिमवत्खण्डको नेपाली खानपान संस्कृतिका बारेमा समेत कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।”

विभिन्न जातजातिको लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकीसहित समुद्घाटन समारोह, प्राज्ञिक विमर्श, सांस्कृतिक प्रस्तुति, लोककला,  वेशभूषा तथा लोकबाजाहरूको प्रदर्शनी र कविता उत्सवलगायतका कार्यक्रम सम्मिलनमा समावेश गरिएको आयोजक सचिवालयका सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्मिलन तयारीका लागि मूल आयोजक समिति, सल्लाहकार समितिसहित विभिन्न उपसमितिहरू गठन गरिएको छ ।” यसअघि २०७५ सालमा भानुजयन्तीका अवसरमा हिमवत्खण्ड कला–साहित्य सम्मिलन आयोजना गरिएको थियो ।

सभ्यता एवम् ज्ञानको आदिभूमिका रूपमा रहेको नेपाल हिमवत्खण्डको केन्द्र स्थल मानिन्छ । हिमवत्खण्डको नेपालमै सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको थियो । यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीति शास्त्रको प्रादुर्भाव र विस्तार भएको थियो । हिमवत्खण्डअन्तर्गत नै सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), मिथिलामा तत्वज्ञानी राजा जनक, याज्ञवल्क्य, गार्गीजस्ता दार्शनिक र वाल्मीकि, व्यास, कालीदास प्रभृति महान् कविहरूको जन्म भयो ।  यहीँ नै ने मुनि नामका ऋषि र किरातहरूका ऋषि आकुनीले ख्याति कमाएको पाइन्छ । वैदिक वाङ्मयमा विविध दर्शनहरूको आविष्कारले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले नै हिमवत्खण्ड र यसअन्तर्गत पर्ने नेपाललाई मानव सभ्यताको उद्गम र विश्व सभ्यताको ज्येष्ठ भूमि मानिएको हो । यसै पावन भूमिमा गौतमबद्धको जन्म भयो र विश्वभर बुद्धत्वको प्रकाश प्रसारित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.