पूर्ण बजेट उपलब्ध नहुँदा साँगा धुलिखेल सडक बिस्तारमा ढिलाइ – फोटो फिचर

काभ्रे –  निर्माणाधीन अरनिको राजमार्ग अन्तर्गत सूर्य विनायकबाट धुलिखेल सडक खण्ड बिस्तार कार्यले सोचे अनुरूप गति लिन सकेको छैन । सरकारबाट पूर्ण रूपमा बजेट कार्यान्वयन हुन नसक्दा सडक बिस्तार कार्य निर्धारित समयमै सम्पन्न हुन नसक्ने बुझिएको छ । निर्माणाधीन सडक अन्तर्गत साँगा–धुलिखेल सडक खण्डमा हालसम्म ३६ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार, अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका इन्जिनियर रबिन्द्र श्रेष्ठका अनुसार, सरकारले पूर्ण बजेट उपलब्ध गराउन नसक्दा समयमै काम सम्पन्न गर्न कठिनाइ हुने देखिएको छ । बजेटका अलावा राजमार्गको विभिन्न स्थानमा खानेपानीको पाइप लाइन, ढल निकास, बिजुलीका तार स्थानान्तरण लगायतका विविध कठिनाइ पनि रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार, यसका साथै राजमार्ग अन्तर्गत साँगादेखि धुलिखेलसम्म ११ वटा घर भत्काउनुपर्ने देखिएको छ, जसको हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।

निर्माणाधीन सडक बिस्तार कार्य समयमै सम्पन्न नहुने भएपछि स्थानीय एवं राजमार्ग प्रयोगकर्ताहरूमा निराश छाएको छ । सुक्खा याम सुरु नहुदैं राजमार्गमा भइरहेको निर्माण कार्यबाट हुने धुवा धुलोका कारण उनीहरू आजित भएका छन् । निर्धारित समयमै सडक बिस्तार कार्य सम्पन्न उनीहरूको माग छ ।

भक्तपुर सूर्य विनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी विस्तारको काम २०७९ पुस २४ मा सुरु भएको थियो । ३६ महिनामा सम्पन्न गर्ने गरी सडक विस्तारका लागि साँगा–धुलिखेल ८.४ किमी सडक खण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लामा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.