सहकारीको रकम हिनामिनाको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

म्याग्दी- म्याग्दीको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहकारी ठगीको आरोपमा पक्राउ पर्नुभएको छ । जिल्लामा सञ्चालनमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार बिहान पक्राउ गरेको हो ।
थापा सहकारीको पूर्व सञ्चालक समितिको उपाध्यक्ष समेत हुनुहुन्छ । सहकारीको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार थप अनुसन्धान सुरु गरिएको छ ।
प्रमुख थापा सहित अन्य सहकारीका व्यक्तिहरू माथि पनि उजुरी परेको प्रहरी जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालय पोखराले एक वर्षअघि गरेको छानबिन प्रतिवेदनमा थापाको समूहले सहकारीको करिब डेढ अर्ब रुपियाँ हिनामिना भएको उल्लेख छ ।
सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरूले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिस्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानबिनका लागि समेत माग गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्