तनहुँका ४२ करोड ५० लाख रुपैयाँको सुन्तला बिक्री

तनहुँ- तनहुँका यस वर्ष ४२ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । जिल्लामा एक हजार ६ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष नौ सय ६८ हेक्टर उत्पादनशील क्षेत्रबाट ५ हजार ८ सय ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान. केन्द्र तनहुँका वाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको परियारको भनाई छ ।
जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएकोमा यस वर्ष बढेर ४२ करोड ५० लाख पुगेको केन्द्रका कृषि अर्थ विज्ञ सुरज गैह्रेले जानकारी दिनुभयो । किसानले यस वर्ष प्रतिकिलो औसतमा प्रतिकिलो ७३ रुपैयाँ मूल्य पाएको गैह्रेले बताउनुभयो ।
तनहुँको देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा सुन्तलाको उत्पादन राम्रो हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला किसानको बगैँचामा पुगेर व्यापारीले खरिद गर्ने गरेका छन् । तनहुँको उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन लगायत तनहुँकै स्थानीय बजारमा बिक्री हुँदै आएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्