प्रति केजी तीन रुपैंयाँमा पनि बिकेन काउली

काभ्रे – राजधानी काठमाडौँको छिमेकी जिल्ला काभ्रे पाँचखालका किसान आफूले उत्पादन गरेका काउली बिक्री नभएपछि समस्यामा परेका छन् । बजारमा काउली सस्तिएको छ भन्ने पनि सुन्न भएको छ होला ।
बजारमा प्रति केजी १५ देखि २० रुपैंयाँमा उपभोक्ताले काउली किन्दै आएका छन् । काउली उत्पादन गर्ने काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामा घाटका किसानले लगाएको काउली प्रति केजी ३ रुपैंयाँमा पनि बिकेको छैन । काउली किन्न व्यापारी नआएपछि स्थानीय किसान भरत दनुवार चिन्तित छन् ।
उत्पादित उपज बिक्री नभएपछि आम्दानी नभएको र यसले गर्दा अब लगाउने खेतीका लागि आवश्यक पर्ने मल, बिउ लगायतका सामान खरिद गर्नसमेत समस्या परेको दनुवार बताउँछन् । काउली खेतमै कुहिने हो कि भन्ने चिन्ताका कारण उनले एक झोला काउली सय रुपैयाँमा व्यापारीलाई दिने तयारीमा छन् एक झोलामा ४० केजी हुन्छ ।
राजधानी काठमाडौँ उपत्यकामा धेरै जनसङ्ख्याको बसोबास भएको र धेरै तरकारी खपत हुने भएकाले छिमेकी जिल्ला काभ्रेमा धेरै किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् ।यस पटक भने ती किसानहरूले उत्पादन गरेको काउली बिक्री गर्न धेरै समस्या झेलिरहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्