चिसोले पनि रोकिएन मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम

 मनाङ-   हिमाली जिल्ला मनाङमा विकास निर्माणका काम हिउँद लागेपछि ठप्प जस्तै हुन्छ ।

सामान्य काम भए पनि सिमेन्ट प्रयोग गरेर गर्नुपर्ने काम हुँदैनन् । तर, एक सय ३५ मेगावाट क्षमताको यहाँ निर्माणाधीन रहेको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम भने चिसोका बावजुत निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

मनाङ चामे गाउँपालिका–१, २ र ३ तथा नासो गाउँपालिका–९ र ८ नम्बर वडामा पर्ने गरी निर्माणाधीन एक सय ३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले यहाँको सडक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको छ ।

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको विकासको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनिया कम्पनीबिच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । यस आयोजनाको क्षमता एक सय ३५ मेगावाट रहेको छ । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रूपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबिच समझदारी भएको जनाएको छ ।

आयोजनाको कूल लागत रु.३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु.एक अर्ब ३३ करोड स्वपुँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ ।

आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको हुनेछ । जसबाट वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल छ दशमलव शुन्य ७५ किलोमिटर रहेको छ ।

आयोजनामा २० प्रतिशत बिपीसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहनेछ । यसका साथै आयोजना निर्माण स्थलको काम तीव्र गतिमा भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.