पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपमा नरहने अवस्थामा पुर्याउँछौँ: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रुपमा नरहने अवस्थामा पुर्याउने रणनीति सरकारले लिएको पनि उल्लेख गर्नुभयो ।
सन् २०३० सम्ममा १० देखि १४ वर्षसम्मका ९० प्रतिशतलाई खोप दिने, ३० वर्षमाथिका ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर पहिचान भएका ९० प्रतिशतको उपचार गर्ने लक्ष्य रहेको उहाँले संसदलाई जानकारी गराउनुभयो ।
क्यान्सरबाट उत्पन्न हुने भार र मृत्युदर घटाउँदै क्यान्सरका बिरामीहरुको जीवनस्तरमा सुधार ल्याउने दुरदृष्टि सरकारको रहेको बताउँदै मन्त्री पौडेलले नेपालको कुल मृत्युको ११ प्रतिशत हिस्सा क्यान्सरले लिएको र फागुन महिनालाई नसर्ने रोगको ‘स्क्रिनिङ’ महिनाको घोषणा गरी पाँच लाखको परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
यही माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म खोपको कभरेज २७.६८ प्रतिशत रहेको बताउँदै हालसम्म चार लाख ६४ हजार ६२ जनाले खोप लगाइसकेको उहाँले जानकारी दिनुभयो ।
सांसद सुमना श्रेष्ठले पछि पनि खोप लगाउनलाई बजेट सुनिश्चित छ कि छैन भनी प्रश्न गर्नुभयो । सांसद प्रेम सुवालले स्वास्थ्य बीमाको रकम नपाएको भन्दै अस्पतालले उपचार नगर्दा समस्या भएको बताउनुभयो । सांसद लेखनाथ दाहालले गम्भीर प्रकृतिका रोग सस्तो भए पनि उपचार महँगो भएको बताउनुहँुदै सरकारी अस्पताल पहुँचवालाको बन्दै गएकामा जनताको बनाउन माग गर्नुभयो ।
सांसद तोसिमा कार्कीले आवासीय चिकित्सकका समस्या समाधान गर्न माग गर्नुभयो । सांसद हितराज पाण्डे, विनीता कठायत, सीताकुमारी राना, रोशन कार्की, छिरिङ लामा, रामहरि खतिवडा, प्रेमबहादुर महर्जनले मन्त्री पौडेललाई स्वास्थ्यका विविध विषयमा प्रश्न राख्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्