वरिष्ठ पत्रकार दाहाल सम्मानित

काठमाडौँ, २६ माघ : ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहालको मैतीदेवीस्थित निवासमा आयोजित कार्यक्रममा समाजका तर्फबाट वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र राजेन्द्र दाहालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मनुभएका ८३ वर्षीय दाहाल राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुनुहुन्छ । विसं २०५६ मा ओखलढुङ्गा क्षेत्र नं १ बाट सांसद पदमा निर्वाचित हुनुभएका उहाँपछि कृषि तथा सहकारीमन्त्री हुनुभएको थियो ।
गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक पत्रकार दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पु-याउनुभएको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताउनुभयो ।
वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेर उहाँले पु-याउनुभएको योगदानको चर्चा  गर्नुभयो । “जतिखेर पञ्चायतविरुद्ध पत्रकारले लेख्नै डराउँथे, त्यतिखेर पनि उहाँले निरन्तर प्रजातन्त्रका पक्षमा लेख्न छाड्नुभएन”, दाहालले भन्नुभयो, “उहाँले पत्रकारिताका माध्यमबाट प्रजातान्त्रिक धारको सधैँ नेतृत्व गरिरहनुभयो ।”
सम्मानित पत्रकार दाहालले आफूलाई सम्झिएर सम्मान गरेकामा संस्थाप्रति आभार प्रकट गर्नुभयो । उहाँले विभिन्न समयमा तीन वर्षभन्दा बढी जेल जीवन बिताउनुभएको छ ।
ओखलढुङ्गा पत्रकार समाजका तर्फबाट पत्रकारहरु जीवनाथ धमला, जीवराम भण्डारी, बालकुमार नेपाल, नारदमुनि गौतम, तुलसीहरि कोइरालालगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुङ्गामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारहरुलाई सङ्गठित गर्ने उद्देश्यले संस्था स्थापना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.