सौराहा खाना महोत्सवको तयारी पुरा

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा दैनिक पाँच हजार पर्यटक भित्र्याउने गरी खाना महोत्सव (फुड फेस्टिभल) को तयारी गरिएको छ ।

माघ २९ देखि सुरु हुने महोत्सवलाई भव्य बनाउन सौराहालाई सिँगारिएको छ । महोत्सवको तयारी गरिएपछि सौराहामा चहलपहलसमेत सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहा चितवन (रेबान) सौराहाको आयोजनामा सौराहा फुड फेस्टिभलको १९ औँ संस्करण हुन लागेको हो । सौराहास्थित पर्यटक बसपार्क जाने बाटोको उत्तरतर्फको खाली जग्गामा फागुन ३ सम्म फेस्टिभल सञ्चालन हुने आयोजक रेबान सौराहाका अध्यक्ष ध्रुर्व गिरीले जानकारी दिनुभयो ।

महोत्सवको तयारी पुरा भएको र सौराहा अब पर्यटकको स्वागतका लागि तयारी अवस्थामा रहेको अध्यक्ष ध्रुर्व गिरीले बताउनुभयो।

चितवनको पर्यटन विकासका लागि प्रणय दिवसका अवसर पारेर रेबान सौराहाले हरेक वर्ष खाना महोत्सकको आयोजना गर्दै आएको अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । महोत्सवको प्रभावका कारण सौराहाको पर्यटक आगमनमा ४० प्रतिशतले पर्यटक वृद्धि हुने उहाँले बताउनुभयो । महोत्सवबाट हुने  मुनाफा सौराहाको सौन्दर्यीकरणमा लगानी गर्ने उहाँले बताउनुभयो ।

खाना महोत्सवमा विभिन्न जातजातिको नाच, खानाका परिकार रहने छ । ९० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर अनुमानित तीन करोडसम्म कारोबार हुने अपेक्षा आयोजकको छ । महोत्सव अवलोकनका लागि सौराहामा दैनिक पाँच हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेबान सौराहाका महासचिव नवीन नेपालले जानकारी दिनुभयो ।

महोत्सव अवधिभर सौराहाका व्यवसायीले आवास र खानामा १० प्रतिशत छुट सुविधासमेत सार्वजनिक गरेका छन् । सौराहामा १५० भन्दा बढी पर्यटकीय होटेल र ९० को हाराहारीमा रेस्टुरेन्ट छन् । सफारी पर्यटनको हिसाबले प्रसिद्ध सौराहामा वार्षिक साढे तीन लाख पर्यटक आउने गरेका छन् । सौराहा आएका करिब ८० प्रतिशत पर्यटकले यहाँको सामुदायिक वन र निकुञ्जमा सफारी गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.