तरकारी खेती तर्फ महिलाको आकर्षण -फोटो फिचर

सुर्खेत –   पछिल्लो समय कर्णालीका महिलाको तरकारी खेती तर्फ आकर्षण बढेको छ । विभिन्न सङ्घ सस्ताको प्राविधिक तथा आर्थिक सहयोग पाएपछि दिगो जीविकोपार्जनका लागि व्यावसायिक तरकारी खेती तर्फ महिलाको आकर्षण बढेको हो । साहस नेपालको पाइला परियोजना मार्फत गाउँ टोलमा विभिन्न कृषि समूह गठन गरेर आधुनिक तरकारी खेतीसँगै उच्च मूल्यका बालीको संरक्षणका लागि उनीहरू सङ्गठित समेत भएका छन् ।

रोजगारीको खोजीमा पुरुषहरू भारतसँगै तेस्रो मूलक जाने क्रम बढेपछि महिला व्यावसायिक तरकारी खेतीतर्फ जुटेका हुन् । पुरुष बिदेसिने क्रम बढेसँगै कृषि कार्यको नेतृत्व महिलाको काँधमा थपिएको साहस नेपाल पाइला परियोजनाका अनुगमन अधिकृत खगेन्द्र विकले बताउनु भयो ।

उहाँले गाउँवस्तीबाट पुरुषहरू बिदेसिने क्रम बढेपछि महिलालाई व्यावसायिक खेतीमा आबद्ध गराएर आर्थिकरुपमा सबल बनाउन लागिएको जनाउनु भयो । उहाँका अनुसार अहिले जाजरकोटको शिवालय गाउँपालिका र कालिकोटको नरहरिनाथ गाउँपालिकालाई महिला मैत्री, वातावरणीय दृष्टिले दिगो, जलवायु तथा विपद् उत्थानशील बनाई खाद्य सुरक्षा र जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले फेल्म नेपालको साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

२ सय २८ घरपरिवारले तरकारी उत्पादनबाट पारिवारिक पोषणको पूर्ति गरी बाँकी बचेको तरकारी स्थानीय बजारमा विक्री गरेर मासिक बिस हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उहाँले जानकारी दिनु भयो ।

महिलाहरू व्यावसायिक खेतीबाट आत्मनिर्भर हुन थालेपछि पारिवारिक हिंसाका घटनामा समेत कमी आइरहेको उहाँको भनाइ छ ।

समग्र कृषि कार्य र पारिवारिक अर्थतन्त्रको नेतृत्व महिलाको हातमा पुगेपछि महिला सशक्तीकरणमा समेत टेवा पुगिरहेको उहाँले बताउनु भयो । आर्थिक अवस्था सवल हुन थालेपछि कतिपय पारिवारिक मतभेद र बेमेलहरु पनि अन्त्य भएको कृषक धनसरा शाहीको अनुभव छ । यता  कर्णाली प्रदेश सरकारले समेत कृषिबाटै गरिबी अन्त्य गर्ने योजना अघि सारेको जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा अहिले २६ दशमलव ६९ प्रतिशत नागरिक गरिब छन् । सरकारले प्रदेशवासीलाई गरिबीको चक्रबाट मुक्त गर्न कृषिबाटै गरिबी अन्त्य गर्ने योजना अघि सारेको मन्त्रालयका सचिव पर्शुराम रावतले बताउनु भयो ।

उहाँले कर्णालीवासीको मुख्य आम्दानीको स्रोत कृषि भएकाले कृषिमा नयाँ प्रविधि र लगानीमार्फत नागरिकलाई आत्मनिर्भर कार्यक्रम अघि सारिएको जनाउनु भयो । उहाँका अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग १ अर्ब ८६ करोड बराबरको बजेट छ ।

कृषिको आधुनिकीकरण र पशुपन्छीमा लगानी गरेर रोजगारी सिर्जना गर्ने मन्त्रालयको मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ । चालु आवको पछिल्लो ६ महिनामा मन्त्रालयले १६ दशमलव ४७ प्रतिशत आर्थिक प्रगतिसँगै ३७ प्रतिशत भौतिक प्रगति गरेको सचिव रावतले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.