प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव सञ्चालनमा

नुवाकोट – खेल पर्यटनको मूल उद्देश्यसहित नुवाकोटको पिपल टारमा प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव सञ्चालन भएको छ।
पीपल टार फुटबल क्लबको आयोजनामा भएको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उद्घाटन गर्नुभयो।
उक्त कार्यक्रममा मुख्यमन्त्री लामाले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा मद्दत पुग्नुका साथै खेल र खेलाडीहरूको पहिचानसमेत हुने बताउनुभयो। मुख्यमन्त्री लामाले विदुर नगरपालिका–५ पिपल टारमा क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो।
गिट्टी–बालुवा व्यवस्थापन, बाढी नियन्त्रण तथा जग्गाविहीनलाई लालपुर्जा वितरण गर्ने योजनाहरू पनि अघि सारिएको उहाँलेजानकारी दिनुभयो। स्थानीय उत्पादन र प्रवर्द्धनमा नुवाकोटवासीले सक्रियता देखाउनु पर्ने मुख्यमन्त्री लामाको भनाइ थियो।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले देशको अर्थतन्त्र उकास्न पर्यटन, उत्पादन र खेलकुदको विशेष भूमिका रहेको बताउनुभयो। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले महोत्सवले पीपल टारको मात्रै नभई नगरपालिका र नुवाकोट जिल्लाकै व्यापार व्यवसाय चलायमान हुने बताउनुभयो। उहाँले महोत्सवले नुवाकोटको ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरूको समेत प्रवर्द्धन हुने बताउनुभयो।
महोत्सव आउँदो फागुन ७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा २ सय ५० भन्दा बढी स्टल छन्। जालपा मिडिया सर्भिसको व्यवस्थापनमा भएको महोत्सवमा राष्ट्रिय, स्थानीय तथा म्हेन्दोमायाका साथै हास्यव्यङ्ग्य प्रहसनसहित विविध क्षेत्रका कलाकारले दर्शकलाई मनोरञ्जन दिलाउने आयोजक पिपल टार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले बताउनुभयो।





प्रतिक्रिया राख्नुहोस्