नेपालीलाई ‘हेल्थ केयर’मा जापान जाने अवसर

काठमाडौँ- जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल-जापान सेवा आदान-प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो।

कार्यक्रमलाई प्रभावकारी बनाउन जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए। जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ।

१८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन्। जापानको केयरगिभिङ क्षेत्रमा जान चाहने नेपालीका लागि नर्सिङ विषयको अध्ययन अनिवार्य गरिएको छैन।

जापानी भाषाको आधारभूत ज्ञान एन-फोर लेभलको भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपालीहरू जापानको केयरगिभिङ क्षेत्रमा जान पाउनेछन्।

भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनौट गर्ने पीएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताए। यसरी छानिएकाहरूलाई नेपालमा नै केयरगिभरका लागि आवश्यक सूचनाप्रविधि र एआईलगायतका तालिम प्रदान गरिनेछ।

यसरी जापान जानेहरूले तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउनेछन्।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.