जन्म दिनमा जम्मा गरेको पैसाबाट तीन विद्यालयलाई झन्डै १० लाखको शैक्षिक सामाग्री सहयोग

भक्तपुर – विद्यार्थीहरूले आफ्नो जन्मदिनका उपलक्ष्यमा जम्मा गरेको रकमले उपत्यका बाहिरका तीन विद्यालयलाई झन्डै दश लाख बरावरको पुस्तक तथा स्टेशनरी सामान हस्तान्तरण गरेका छन् । सकेकाले सहयोग गरौँ भन्ने अवधारणा अनुसार विद्यालयको जन्मदिन कोषमा जम्मा भएको उक्त रकमबाट तीन वटा सरकारी स्कुलहरूलाई भक्तपुरको एउटा निजी स्कुलमा अध्ययनरत छात्रछात्राहरूले सर्लाही, दाङ र स्याङ्जाका सरकारी स्कुललाई प्रतिस्कुल तीन लाख १२ हजार तीन सय ९३ रुपैयाँ बराबरको पुस्तक र २३ हजार सात सय ४० रुपैयाँ बराबरको स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन ।
सहयोग पाउने विद्यालयमा सर्लाहीको नयाँंवस्ती जियाजोरस्थित श्री जनज्योति आधारभूत विद्यालय, दाङ घोराहीस्थित श्री माध्यमिक विद्यालय डाँंडागाउँ गोग्ली र स्याङ्जा चापाकोट स्थित श्री खडकाली माध्यमिक विद्यालयलाई पुस्तक र स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको हो ।
एभरेस्ट इंगलिश स्कुल मिवाछें भक्तपुरको ४२ औँ वार्षिकोत्सव समारोह तथा एभरेस्ट जन्मदिन कोष २०८१ बाट सङ्कलित रकमबाट ती पुस्तक तथा स्टेशनरी सामानहरू खरिद गरी हस्तान्तरण गरिएको स्कुलका संस्थापक प्रिन्सिपल भक्तराज भण्डारीले बताउनु भयो ।
उक्त विद्यालयमा अध्यनरत विद्यार्थीलाई आफ्नो जन्मदिनमा चकलेट बाँड्न बन्देज छ । त्यसैले विद्यार्थीहरूले आफ्नो जन्मदिनको उपलक्ष्यमा चकलेट किन्ने पैसा एभरेस्ट जन्मदिन कोषमा जम्मा गर्दछन् । यसरी वर्षभरि कोषमा जम्मा भएको रकमलाई प्रत्येक वर्ष दूर दराजका सरकारी स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग पुग्ला भनेर पुस्तक तथा स्टेशनरी सामानहरू सहयोग गर्दै आएका छन् ।
यस्तो कार्य २०६६ सालबाट सुरुवात भएको र हालसम्म २९ जिल्लाका ३० वटा सरकारी विद्यालयलाई सहयोग हस्तान्तरण गरिसकेको स्कुलले जनाएको छ । यो कार्यलाई निरन्तरता दिन विद्यार्थीले प्रत्येक वर्ष जन्म कोषमा सहयोग गरिरहेका छन् ।
आज एक कार्यक्रमकाबीच शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरका प्रमुख कमला ज्ञवाली र स्कुल व्यवस्थापन समिति अध्यक्ष राम गोपाल कर्माचार्यले संयुक्त रूपमा जनज्योति आधारभूत विद्यालय सर्लाहीका प्रधानाध्यापक मनोजप्रसाद खनाल, श्री माध्यमिक विद्यालय दाङ घोराहीका प्रधानाध्यापक राजेन्द्रकुमार घिमिरे र श्री खडकाली माध्यमिक विद्यालयका स्याङ्जाका प्रधानाध्यापक लेषबहादुर खाँडलाई पुस्तक तथा स्टेशनरी सामाग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा तीन वटै विद्यालयका प्रधानाध्यापकले दूर दराजका विद्यालयमा यसरी सहयोग गर्नु पुण्यको कार्य गरेको भन्दै स्कुल परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्