गोरखाको लाप्राकमा परम्परागत रुपमा मनाइने ‘मकैको विहे’ सम्पन्न

गोरखा- गोरखाको धार्चे गाउँपालिकामा घुमघामका साथ मकै बिहे गरिएको छ । गाउँपालिकाको वडा नम्बर-४ स्थित लाप्राकमा मकैको बिहे गरिएको हो । धार्चेका बिभिन्न गाउँमा बारीमा रोप्नुअघि मकै बिहे गर्ने परम्परा रहँदै आएको छ ।

बाजागाजा, नाचगानसहित घाटु कन्या र कुमारलाई डोलीमा बोकेर दिनभर गाउँ र आसपासको बारी परिक्रमा गरेपछि जन्ती गाउँमा पुगेर भुटेको मकैको भोज भतेर खाने गरिन्छ । मकै बिहे नगरी बारीमा रोप्नु हुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यता रहेको स्थानीयको भनाई छ ।

जिल्लाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, लापुलगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ । गाउँभन्दा केही पर जंगलमा छाप्रो बनाएर घाटु कन्यालाई लुकाएर राखिने चलन रहेको गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अनि जन्ती त्यहाँ पुगेर कन्या र कुमारलाई डोलीमा बोक्दै ढ्यांग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित नाचगान गर्दै गाउँमा फर्किन्छौँ ।’ जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्ने गरिन्छ ।

जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाउने र त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरू बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा मकै रोपिने प्रचलन रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.