वैयक्तिक गोपनीयताको संरक्षण चुनौतिपूर्णः प्रधानन्यायाधीश राउत

काठमाडौँ – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पारदर्शिता, सूचनाको हकको प्रत्याभूति र वैयक्तिक गोपनीयताको संरक्षण चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा पाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सीमान्तकृत समुदायको हित र अल्पसङ्ख्यक एवं लोपोन्मुख सम्प्रदायको नैसर्गिक हकको संरक्षणमा राज्य र गैर राज्य संस्थाहरूको क्रियाशीलता पनि अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले व्यक्तिको असंलग्नतामा प्रविधिबाट हुने मानव अधिकारको उल्लङ्घनका कार्यमा कानुनी एवं न्यायिक उपचारलाई मार्ग प्रशस्त गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सूचनामा अवैध पहुँचको नियन्त्रण र सूचनामा सुरक्षा तथा उपयुक्त प्रयोगलाई राज्यका कानुनले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । मानव जीवनसँग सम्बन्धित प्राकृतिक श्रोतको प्रयोग र संरक्षण, सङ्कटापन्न वन्यजन्तुको संरक्षण, आदिवासी समुदायको सांस्कृतिक अधिकारको प्रत्याभूति र बृहत्तर सार्वजनिक महत्वको विकास परियोजनाको समुचित सन्तुलनमा कानुनी संयन्त्रहरूको रचनात्मक भूमिकाको खोजी भइरहेको बताउनु भयो । समयानुकूल मानव अधिकरको सवालहरूमा आजको कानुन एवं न्यायिक दक्ष जनशक्तिको भूमिका अपेक्षित रहेको बताउनु भयो ।
प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘सीमान्तकृत समुदायको हित र अल्पसङ्ख्यक एवं लोपोन्मुख सम्प्रदायको नैसर्गिक हकको संरक्षणमा राज्य र गैर राज्य संस्थाहरूको क्रियाशीलता पनि अपरिहार्य देखिन्छ । पारदर्शिता, सूचनाको हकको प्रत्याभूति र वैयक्तिक गोपनीयताको संरक्षणको सङ्कलन बडो चुनौतीपूर्ण छ । व्यक्तिको असंलग्नतामा प्रविधिबाट हुने मानव अधिकारको उल्लङ्घनका कार्यमा कानुनी एवं न्यायिक उपचारलाई मार्ग प्रशस्त गर्नुपर्ने अवस्था छ । सूचनामा अवैध पहुँचको नियन्त्रण र सूचनामा सुरक्षा तथा उपयुक्त प्रयोगलाई राज्यका कानुनले सम्बोधन गर्नुपर्ने आवश्यकता समेत छ । मानव जीवनसँग सम्बन्धित प्राकृतिक श्रोतको प्रयोग र संरक्षण, सङ्कटापन्न वन्यजन्तुको संरक्षण, आदिवासी समुदायको सांस्कृतिक अधिकारको प्रत्याभूति र बृहत्तर सार्वजनिक महत्वको विकास परियोजनाको समुचित सन्तुलनमा कानुनी संयन्त्रहरूको रचनात्मक भूमिकाको खोजी भइरहेको देखिन्छ । तसर्थ समयानुकूल मानव अधिकरको सवालहरूमा आजको कानुन एवं न्यायिक दक्ष जनशक्तिको भूमिका अपेक्षित छ ।’
प्रधानन्यायाधीश राउतले वातावरणीय स्वच्छता र पर्यावरणीय सन्तुलन वातावरण संरक्षणको आधारभूत पक्ष भए पनि जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्नुपर्ने अवस्थाले गर्दा अल्पविकसित, विकासोन्मुख र विकसित राष्ट्रहरूले चिन्ता र चासो दिनुपर्ने बताउनु भयो । वातावरणीय न्यायको सन्दर्भमा नेपालको न्यायपालिकाले विगतदेखि नै प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा विधायीकी प्रबन्धका क्षेत्रहरू धेरै रहेको बताउनु भयो । सामाजिक चुनौतीहरू समय सापेक्ष हुने पनि बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्