कर्णाली प्रदेश गरिब छैन, स्रोत र अवसरको सरोवर हो : मुख्यमन्त्री कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली गरिब छ भन्ने भास्य चिर्ने प्रयास भइरहेको बताउनु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि शुरु भएको ‘कर्णाली उत्सव’ को छैटौं संस्करणलाई सम्बोधन गर्दै उहाँले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर भएको धारणा राख्नु भयो ।
कर्णाली भन्ने वित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यतालाई चिर्ने कार्य अघि बढेको बताउँदै आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर–दक्षिण व्यापारको ढोका खोल्दै मानसरोवर एवम् मध्य एसिया पुग्ने सिल्क रोडलाई कर्णालीले प्रतिनिधित्व गर्ने कार्य अघि बढेको उहाँले जानकारी दिनु भयो ।
हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै मुख्यमन्त्री कँडेलले मानसरोवर मार्ग, फोक्सुण्डोलगायत साँंस्कृतिक तथा प्राकृतिक भूमिहरुले राष्ट्रिय स्तरमा मात्र होइन अन्र्तराष्ट्रिय पहिचान बढाउन मद्दत पुगेको बताउनु भयो ।
उहाँले मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्वपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको समेत जानकारी दिनु भयो ।
उहाँका अनुसार कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरुको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट बिनियोजन भई काम अगाडि बढने प्रक्रियामा रहेका छन् ।
उहाँले कर्णालीमा अनियमित विद्युतलाई नियमित गर्न १३२ केभी विद्युत प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरु भईरहेको समेत बताउनु भयो ।
कर्णाली उत्सवको छैटौं संस्करणको उद्घाटन समारोहमा बोल्दै वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतिले तीन वटै तहका सरकारले रोजगारी र उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताउनु भयो । वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशिलता र उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई थियो ।






प्रतिक्रिया राख्नुहोस्