देशको विकासका लागि ल्याइएको हो, संसदबाट पारित हुन्छ : प्रधानमन्त्री ओली
देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन-प्रम

दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताउनुभएको छ ।
यहाँको घोराहीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै उहाँले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको जानकारी दिनुभयो । “अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।”
प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउनुभयो । उहाँले दाङ कृषिमा उर्वर भूमि भएको र हिजो विकासमा पछाडि परेको भए पनि अब अगाडि बढ्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहालले सत्ता बाहिर पुुगेपछि अहिले आत्तिएर अनेक आरोप लगाएको टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह गर्नुभयो ।
लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका र उनीहरू नै लोकतन्त्रका मसिहा बनेका भन्दै प्रधानमन्त्री ओलीले चेतावनी दिँदै भन्नुुभयो, “माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको थियो । त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुुहाउँदैन । धेरै बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस् ।’’यसअघि प्रधानमन्त्रीले ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।
सोही कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले साना दलले गलत भाष्य निर्माण गरी प्रचार गरेकाले देश अस्थिरतामा गएको बताउनुभयो । मुलुकको निराशालाई चिर्न एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको बताउनुभयो ।
लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव पद्मा अर्यालले विकासका लागि जनताको साथ चाहिने बताउनुभयो । यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्