मापदण्ड विपरीत खानी र क्रसर उद्योग सञ्चालन

काभ्रे –  काभ्रे जिल्लामा गत असोज दोस्रो साताको बाढीपहिरोले व्यापक मानवीय तथा भौतिक क्षति पुगेर अति प्रभावित सूचीमा रहेका पालिकामा फेरि मापदण्ड विपरीत खानी र क्रसर उद्योग सञ्चालनमा आएका छन् । बाढी पहिरोको जोखिम कायमै भएकाले काभ्रेका पाँच वटा स्थानीय तहलाई सरकारले अति प्रभावित घोषणा समेत गरेको छ । जिल्ला अनुगमन समितिको निर्देशन विपरीत मापदण्ड पालना नगरेरै खानी र क्रसर उद्योग सञ्चालनमा आएका हुन् ।
बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेश स्थानमा रहेको गणेश आधारभूत विद्यालयको पछाडिपट्टि रहेको चलाल गणेश स्थान खनिज उद्योग प्रा.लिमा भइरहेको उत्खननको कामले विद्यालयको पढाइ प्रभावित भएको हो ।
विद्यालय भवनको आडैमा ढुङ्गा, गिट्टी उत्खनन गर्ने क्रसर चलिरहेको छ, भित्र कक्षाकोठामा पढाइ भइरहेको हुन्छ । क्रसरको चर्को आवाजले शिक्षकले पढाएको न विद्यार्थीले राम्रोसँग सुन्न सक्छन् न विद्यार्थी भनेको शिक्षकले नै बुझ्न सक्छन् । कक्षामा पढाइ भइरहेको बेला खानीमा उत्खननको काम भइरहँदा पठनपाठनमा असहज हुने गरेको विद्यार्थीहरू बत्ताउँछन् ।
अनुमति लिएर सञ्चालन गरेको भए पनि बस्ती नै जोखिममा राखेर उत्खनन गर्दा भविष्यमा ठुलो क्षति हुने चिन्ता स्थानीयको छ । बस्तीमाझ सञ्चालित खानी तथा क्रसर उद्योगका कारण आफूहरू सधैँ त्रासमा बस्नुपरेको उनीहरूको भनाइ छ  ।
 
माघ ९ को जिल्ला अनुगमन समिति बैठकले काभ्रेका विभिन्न नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढी पहिरोको मुख्य कारण रहेको निष्कर्ष निकाल्दै यस्ता उद्योगको नियमनका लागि कानुनी व्यवस्थाको पालना गराउन सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरेको थियो । तर, जिल्ला अनुगमन समितिको निर्णय विपरीत विभिन्न पालिकामा खानी र क्रसर उद्योग सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.