ज्ञान माला सङ्घ आनन्द विहारद्वारा नेपाल टेलिभिजन सम्मानित

पाल्पा- आज भन्दा ७७ वर्ष अघि वि.सं २००४ सालमा स्थापना भएको पाल्पा जिल्लामा अवस्थित ज्ञान माला सङ्घ आनन्द विहारले नेपाल टेलिभिजनलाई सम्मान पत्र सहित सम्मान गरेको छ ।
नेपाल टेलिभिजनले नेपाल भाषामा नियमित समाचार प्रारम्भ गरेर राजधानी बाहिर रहेका पाल्पाली सहित समग्र नेवार समुदाय हर्षित, उत्साहित र गौरवान्वित तुल्याएको भन्दै सम्मान गरिएको ज्ञान माला सङ्घ आनन्द विहारका निवर्तमान अध्यक्ष सरोजलाल शाक्यले बताउनुभयो । सम्मान पत्र नेपाल टेलिभिजनका पाल्पा प्रतिनिधि सुनिल कार्की मार्फत हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय टेलिभिजनका रूपमा स्थापित नेपाल टेलिभिजनले देशका अन्य भाषामा पनि समाचार प्रसारण गरेर समावेशिता र राष्ट्रिय दायित्व निर्वाह गरेकोमा विहार परिवारले धन्यवाद पनि दिएको छ ।
पश्चिम नेपालकै सबै भन्दा पुरानो र ऐतिहासिक विहारको पहिचान बनाएको ज्ञान माला सङ्घ आनन्द विहारले जिल्लामा सबै भन्दा पहिला नेपाल भाषा, ज्ञान माला भजन र बुद्ध शिक्षाको प्रचारप्रसार सुरु गरेको थियो ।
यस विहारले नेपाल भाषाका ज्ञान माला भजनहरू हरेक वर्ष गुँला धर्म, बुद्ध जयन्ती, हरेक पूर्णिमाका धार्मिक कार्यक्रमहरूमा गाउँदै, बजाउँदै, सिकाउँदै नेपाल भाषाको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुर्याउदै आइरहेको विहारका अध्यक्ष उत्पल कुमार बज्राचार्य बताउनुहुन्छ ।
विहारले विगतमा नेपाल भाषाका राष्ट्रिय स्तरका नेपाल भाषा साहित्य सम्मेलन समेत सम्पन्न गरी सकेको छ ।






प्रतिक्रिया राख्नुहोस्