पोर्चुगलमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन भव्य रूपमा सम्पन्न

काठमाडौँ – इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को पोर्चुगल अडिसन आज भव्य रूपमा सम्पन्न भएको छ।
लिस्बनस्थित ‘लभ लिस्बन’ रेस्टुरेन्टमा आयोजित अडिसनमा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराई रहनुभएको थियो भने विशेष अतिथिका रूपमा संस्थाका सांस्कृतिक विभाग प्रमुख ओमराज गुरुङको उपस्थिति रहेको थियो।
कार्यक्रम अत्यन्तै उत्साहजनक र भव्य भएको संयोजक देवी गर्बुजा मगरले जानकारी दिइन्। ‘मेरो भ्वाइस युनिभर्स’ तर्फ ३२ जना प्रतियोगीले आफ्नो गायन प्रतिभा प्रस्तुत गरेका थिए भने ‘मेरो डान्स युनिभर्स’ तर्फ १६ जना प्रतियोगीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए।
नेपाली मौलिकता झल्किने पोसाकमा सजिएर आएका प्रतियोगीहरूले आफ्ना उत्कृष्ट प्रस्तुति दिएर उपस्थित दर्शकहरूको मन जितेका थिए।
फाउन्डेसनका कार्यकारी निर्देशक भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली भाषा, कला र संस्कृतिको विश्वव्यापी प्रवर्द्धन गर्ने यो अभियानले प्रतिभाशाली नेपालीहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने बताउनु भयो।
कार्यक्रम संयोजक देवी गर्बुजा मगरले पोर्चुगलमा पहिलो पटक आयोजित अडिसन अत्यन्तै सफल भएको र यसले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रियता उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नेपालका लागि काठमाडौँ, पोखरा, दमक र नेपालगन्जमा तथा अन्तर्राष्ट्रिय रूपमा बेलायत, थाइल्यान्ड, हङकङ, जापान, दुबई, कतार, अस्ट्रेलिया र भारतका विभिन्न सहरहरूमा अडिसन हुने कार्यक्रम तालिका अनुसार तयारी भइरहेको जानकारी दिइएको छ।
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का विजेताले १ करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् भने दोस्रो स्थान हासिल गर्नेले २५ लाख र तेस्रो स्थान प्राप्त गर्नेले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
पोर्चुगलमा सम्पन्न यो अडिसनले नेपाली समुदायमा नयाँ जोस र उत्साह भरिदिएको छ। प्रतियोगिताका छनोट भएका प्रतिभाहरूलाई आगामी चरणका लागि काठमाडौँमा प्रतिस्पर्धा गराइने छ।






प्रतिक्रिया राख्नुहोस्