नेपाललाई समृद्ध बनाउने आधार तयार हुँदै गएको छ : अध्यक्ष दाहाल

गोरखा- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताउनु भएको छ ।
गोरखाको पालुङटार नगरपालिका-१०, मिरकोटमा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव-२०८१ को उद्घाटन गर्नुहुँदै उहाँले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न योजनाबद्ध पहल थालिएको बताउनुभयो ।
उहाँले देशमा कृषि क्षेत्रमार्फत रोजगारीका थुप्रै सम्भावना हुँदाहुँदै पनि गाउँहरू बिस्तारै युवाविहीन हुँदै जानु, खेतीयोग्य जमिन बाँझो हुँदै जानु डरलाग्दो अवस्था भएकोले सवै पक्ष गम्भीर हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
आम जनताले आफ्ना छोराछोरीलाई विदेश होइन, आफ्नै माटोमा केन्द्रीत गर्ने गरी सोच्ने बेला आएको उहाँले बताउनुभयो ।
आफुले सरकारको नेतृत्व गर्दा महत्त्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादी बाटोमा अघि बढाउन सफल भएको भन्दै उहाँले स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने उदाहरण दिनसक्ने गरी धेरै क्षेत्रमा सुधारको थालनी गरेको दावी गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्