फेरि राजा बन्ने चाहना त्यागेर निर्वाचनमार्फत नेता बन्न पूर्वराजालाई बामदेवको सुझाब 

काठमाडाैँ– राष्ट्रियसभाको आजको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजालाई फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न सुझाव दिनुभएको छ । आजको बैठकको विशेष समयमा उहाँले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको बताउनुभयो ।

“नेपाली जनताले जनआन्दोलनको बलमा राजा हटाएर बहुदलीय व्यवस्था ल्याएका हुन्”, उहाँले भन्नुभयो, “पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा प्रजातन्त्रिक पार्टी दर्ता गराउनुस्, २०८४ को निर्वाचनमा भाग लिनुस्, निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस् ।”

सांसद झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारले संसद्लाई छलेर ल्याएका अध्यादेश भूमाफिया, कालोबजारी, राजस्व छली, स्वार्थ समूहको हितमा रहेको आरोप लगाउँदै आमजनताको पक्षमा नरहेको अध्यादेश पास गर्न नुहुने धारणा व्यक्त गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले कृषि अनुदान अपचलन गर्नेलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै मल बीउ र खनजोतका लागि वडा कार्यालयमार्फत अनुदान दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “एकातर्फ मलबीउ छैन, अर्कातर्फ सीमा क्षेत्रमा सुरक्षाकर्मीको ज्यादती छ, एक कट्टा मल र १० किलो बीउ ल्याउनेलाई कारबाही गर्छन्”, उहाँले भन्नुभयो, “मलबीउ, खनजोत र सिँचाइका लागि सबैभन्दा बढी अनुदान हुनुपर्छ, अन्य क्षेत्रका अुनदान कटौती हुनुपर्छ ।”

सांसद युवराज शर्माले आर्थिक समृद्धि र जनजीविकाको सबाल सम्बोधन गर्न राजनीतिक दलहरु चुक्न नहुनेमा जोड दिँदै सङ्घ र प्रदेशको संरचनामा व्यापाक सुधार गरेर जानुपर्ने खाँचो औँल्याउनुभयो ।

सांसद डा बेदुराम भुसालले संसदीय प्रक्रिया र अन्तरवस्तुको दृष्टिकोणबाट अध्यादेश समर्थन गर्न नसकिने बताउनुभयो । भूमिहीन, सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि विद्यमान ऐन पर्याप्त रहेको जनाउँदै उहाँले स्वार्थ समूहको हितमा भूमिसम्बन्धी अध्यादेश अघि बढाउन नहुने धारणा राख्नुभयो ।

सांसद मोहम्मद खालिदले भारतको उडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु सम्बन्धमा नेपाल सरकारले चालेको कूटनीतिक पहल र त्यसको परिणामबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.