उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौं: प्रचण्ड

झापा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले संघर्षमार्फत प्राप्त गरेका राजनीतिकको रक्षा र कार्यान्वयनका लागि आफ्नो पार्टीले उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने बताउनुभएको छ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राख्नुभएको हो ।

हिजो वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनका विरुद्ध गरिएको महान जनयुद्धका कारण आज नेपाल समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्राप्त अधिकारको रक्षा र कार्यान्वयनका लागि आम उत्पीडित वर्ग फेरि एकताबद्व भएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो ।

जनताले प्राप्त गरेका अधिकार प्रयोग गर्न नपाएको बरु विभिन्न शक्तिबाट खोस्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले यसमा सचेत गराउँदै जनतालाई पुनः एकताबद्व भएर अघि बढ्नका लागि आह्वान गर्न पार्टीले जनतासँग माओवादी जागरण अभियान अघि बढाएको बताउनुभयो । पूर्वी दक्षिण क्षेत्रको उत्पीडित समुदाय राजबंशीको बसोबास रहेको कोच क्षेत्रबाट अभियान सुरु गरेर पश्चिम दक्षिण क्षेत्रको थारु सघन वस्ती कन्चनपुरमा अभियान समापन गरिने जानकारी दिदै उहाँले यसले पार्टीलाई आफ्नो वर्ग र समुदायमा फर्काउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

यो अभियान जनतासँगको अन्तरसंवादको अभियान भएको उल्लेख गर्दै उहाँले सबैभन्दा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोत साधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रुपमा गर्न सकिने कामलाई योजनाबद्व रुपमा अघि बढाउने बताउनुभयो।

यो क्षेत्रमा जन्मसिद्ध नागरिकताको समस्या धेरै देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कानुनी रुपमा हजारौं नागरिकताविहीन नेपालीहरुले नागरिकता पाउने बाटो खुले पनि केही व्यवहारिक समस्या देखिएकाले समाधानका पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै मलबीउको समस्या, जंगली जनावरले पुर्याउने क्षति, नदी कटानको समस्या, सीमा क्षेत्रको शान्ति सुरक्षाको चुनौती, सर्पदंश उपचारको अभाव जस्ता समस्या बढी देखिएकाले यी समस्याको योजनाबद्व समाधानका लागि पार्टी लाग्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.