तँछाडमछाड गरी काटिन्छ बनका निगाला

रुकुम पूर्व- रुकुम पूर्वमा सामूहिक रुपमा निगाला काट्न खुला गरिएको छ ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा वन जङ्गल बाट आफू खुशी स्याउला सोत्तर र निगाला ल्याउन पाइँदैन । निगाला ग्रामीण भेगका समुदायले दैनिक काममा प्रयोग गर्न डोको, डालो, मान्द्रो, भकारी, मुढा, टोकरी लगाएतका सामान बनाउने गर्छन् ।
विशेषगरी, तकसेरामा हरेक काम सामूहिक रूपमा गर्ने गर्छन् । हिमाली भेगमा यो ठाउँका समुदाय परम्परागत अभ्यासका रूपमा जीवित रहिआएको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो ।
रानीवनको रुपमा संरक्षण गरेर वर्षमा सामूहिक रूपमा निगाला काट्न एक दिन खुला गरिन्छ । गाउँमा छलफल गरेर सबैलाई अनुकुल हुनेगरी निगाला काट्न फुकुवा बनाउने गर्छन् ।
तकसेराले अहिलेसम्मै धेरै कुरा जीवित राख्न सकेकाले सांस्कृतिक ग्रामको प्रतीकका रुपमा संरक्षण गर्न गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
बिहान खाना खाएर हरेक घर कुरिया बाट एकएक जना रानीवन प्रवेश गर्ने ठाउँमा जम्मा भएका थिए । सबै गाउँले जम्मा भएपछि आआफ्नो थरमा हाजिरी गरेर कटुवालेको हाँकसँगै खुल्ला गरिएको थियो ।
निगाला काट्न तँछाडमछाड गर्दै वनमा पसेका थिए । निगाला संरक्षण गरेर समय समयमा आवश्यकता अनुसार सामूहिक रूपमा काट्ने गरिन्छ । गाउँलेहरू मिलेर एकै ठाउँमा भेला भएर निगाला काट्न हिँडेको कुनै उत्सव जस्तो देखिन्छ ।
यो गाउँमा हरेक कुरा सबैले बाँडफाँड गर्ने परम्परा रहेको छ ।
एकै पटक धेरै व्यक्तिले काट्दा निगाला मासिने डरले एक जनाले एक दिन मात्रै काट्न पाउने नियम अपनाउँदै आएको गाउला मुख्य अध्यक्ष धर्मसुर बुढामगरले बताउनुभयो । गाउला मुख्य प्रथा समुदायको संस्कृति र परम्परासँग जोडिएको छ ।
निगालाका सामान घरायसी प्रयोजनका लागि टोकरी, नाम्लो, मकै, आलु भण्डारण गर्ने भकारी तथा दैनिक जीवनमा प्रयोग गर्ने गरिन्छ ।
गाउला मुख्य समुहले संरक्षणमा नियम र वातावरणीय सन्तुलन मिलाएर निगाला काट्न शून्य मौसममा मात्र काट्ने गर्छन् । शून्य समयमा पालुवा पलाएको हुँदैन जसले गर्दा बिरुवामा असर नपर्ने समुहका अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।
अनियन्त्रित रूपमा काट्दा वातावरणमा असर पर्ने भएकाले सन्तुलन कायम राख्ने गरिन्छ ।
सामूहिक रूपमा निगाला काट्ने चलन परम्परागत श्रम विभाजन, सहयोग र वातावरणीय चेतनासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक अभ्यासको रुपमा हेरिन्छ ।।
प्रतिक्रिया राख्नुहोस्