काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी

गलकोट – जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गर्नुभएको छ । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा लाग्नुभएका उहाँ अहिले बागलुङका सफल किसानका रुपमा परिचित हुनुहुन्छ ।
उहाँले निजी, भाडा र बाँझो जग्गा गरी १८ रोपनी खेतबारीमा प्लास्टिक टनेल र टनेलबाहिर सिजन अनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ । पदम खत्रीले एग्रो फार्ममा मौसमी र बेमौसमी टमाटर, काउली, बन्दा, साग, सिमी र घिरौँलालगायत तरकारी फलाउँदै आउनुभएको छ ।
उहाँले गत वर्ष एउटै काउली नौ किलोको र यस वर्ष १२ किलो सम्मको फलाउनु भएको थियो । उहाँ कृषि ज्ञान केन्द्रबाट पटक–पटक उत्कृष्ट किसानका रुपमा सम्मानित हुँदै आउनुभएको छ । “निरन्तर मेहनत गरे सफलता पाइँदोरहेछ, अहिलेको सिजनमा मात्रै छ लाखको काउली बजार पठाएँ, वर्षमा पाँच–छ लाखको त टमाटर नै बिक्री हुन्छ,” खत्रीले भन्नुभयो, “आठवटा प्लास्टिक टनेल र खन्य खुल्ला रुपमा तरकारी उत्पादन हुँदै आएको छ, यस वर्ष काउलीको मूल्य राम्रो भएकाले धेरै नाफा भयो ।”
विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारीखेती थाल्नुभएका खत्री यस क्षेत्रकै सफल किसानका रुपमा परिचित हुनुहुन्छ ।
स्वदेशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा लाग्नुभएका खत्रीले वार्षिक रु १२ देखि १४ लाख आम्दानी गर्दै आउनुभएको छ । “अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको थिएँ, छ लाख आम्दानी त एक सिजको काउलीबाटै भयो, अहिले काउलीको बजार मूल्य रु १०० सम्म परेकाले राम्रो आम्दानी भयो,” उहाँले भन्नुभयो । तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा लिएर १८ रोपनी जग्गा पु¥याउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.