सडक मार्गमा पहिलो पटक टाइम कार्ड लागू
दुर्घटना न्यूनीकरणमा जोड

नुवाकोट- दुर्घटना न्यूनीकरणमा जोड दिँदै नुवाकोटको सडक मार्गमा पहिलो पटक टाइम कार्ड प्रणाली लागू गरिएको छ । सरोकारवालाहरूको निर्णयले सो नियम लागू गरिएको हो ।
पहिलो चरणमा सो टाइम कार्ड प्रणाली त्रिशूली –छहरे – टोखा–माछा पोखरी सडकमा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सरोकारवालाहरूको संयुक्त बैठकले सडक मार्गमा सवारी दुर्घटना बढेपछि टाइम कार्ड प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
सरोकारवालाहरूको निर्णय अनुसार यही फागुन १५ गते बिहीबारदेखि पहिलो चरणमा ५५ किलोमिटर दुरीको त्रिशूली –छहरे – टोखा–माछा पोखरी सडकमा लागू गरिएको हो । यसबाट यातायात दुर्घटना न्यूनीकरण भई धनजनको क्षति हुनबाट जोगिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
त्रिशूली –छहरे – टोखा–माछा पोखरी सडक खण्डमा सञ्चालन भइरहेका सार्वजनिक यातायातका साधनका लागि टाइम कार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको भनाई छ । उहाँका अनुसार उक्त सडक खण्डमा सार्वजनिक यातायतहरु बढी दुर्घटनामा हुन थालेपछि टाइम कार्ड प्रणाली लागू गरिएको हो ।
सडकको क्षमता र प्रकृति अनुसार टाइम कार्डको सीमाभित्र रही सञ्चालन गर्न गराउनका लागि समेत आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यही फागुन १२ गते यातायात व्यवसायीसहित सम्बन्धित पक्ष र सरोकारवालासँगको बैठकपछि सो निर्णय गरिएको जनाइएको छ ।
विस्तार हुँदै गइरहेको सहरीकरण, बढ्दो यातायात चाप तथा दुर्घटनाबाट हुन सक्ने विपद् जोखिमको मध्यनजर गरी जोखिम न्यूनीकरण, यात्रालाई सुरक्षित, भरपर्दो, विश्वसनीय र मर्यादित बनाउन त्रिशूली –छहरे – टोखा–माछा पोखरी सडक खण्डमा सञ्चालन भइरहेका सार्वजनिक यातायातका साधनका लागि टाइम कार्ड लागू गरिएको नुवाकोट प्रशासनले जनाएको छ । काठमाडौँको सामाखुसीबाट ५० किलोमिटरको यात्रापछि नुवाकोटको गँगटे पुग्न सकिन्छ ।
नुवाकोट प्रवेशका लागि सो मार्ग सबैभन्दा छोटो दुरीको बाटो हो । बाटोको अवस्था साँघुरो र घुम्ती बढी भएकाले द्रुत गतिमा सवारीसाधन सञ्चालन भए दुर्घटनाको सम्भावना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोही कारण पटक÷पटक दुर्घटना हुँदै आएको छ । पछिल्लो समय उक्त सडकमा साना गाडी बढी चल्ने गरेका छन् ।
सवारीसाधानहरु समयमा गन्तव्यमा पुगे नपुगेको विषयमा भने ट्राफिक प्रहरीले निगरानी गर्ने बताइएको छ । पछिल्लो समय उक्त सडकबाट दैनिक दुई हजार भन्दा सवारीसाधन ओहो र दोहो र गर्ने अनुमान गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालयका नुवाकोटका अनुसार उक्त सडकलाई दुई खण्डमा विभाजन गरिएको छ । जसअनुसार पहिलो खण्डमा ढिकुरेदेखि छहरे र दोस्रो छहरेदेखि गुर्जेभन्ज्याङ रहेको छ ।
सो अनुसार ढिकुरेबाट छहरेसम्म ५ दशमलव ४ किमीका लागि २० मिनेट र छहरेबाट गुर्जेभन्ज्याङ १९ दशमलव ७ किमीका लागि ५० मिनेट समय निर्धारण गरिएको छ ।
पछिल्लो समय नुवाकोट, काठमाडौँका लागि सहज र छोटो बाटोमा रूपमा उक्त सडकलाई लिने गरिएको र यातायातका साधन र यात्रुहरूको चाप बढिरहेको शिवपुरी गाऊँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाको भनाई छ । नुवाकोटमा नमस्ते पासाडल्हामु यातायात प्रा.लि, टिमुरे यातायात, त्रिशूली यातायात र नेपाल माइक्रो कम्पनीले सार्वजनिक यातायात सञ्चालन गर्दै आएका छन् ।






प्रतिक्रिया राख्नुहोस्