नेमकिपाको महाधिवेशन भक्तपुरमा भोलिदेखि

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भक्तपुरमा हुने भएको छ । यही फागुन १६, १७, १८ र १९ गते हुने महाधिवेशनको उद्घाटन फागुन १६ गते सल्लाघारी भक्तपुरस्थित एक सय आठ रोपनीको खुल्ला चौरमा दिउँसो १ बजे हुने नेमकिपाले जनाएको छ ।
महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बताउनु भयो । महाधिवेशनका लागि सातै प्रदेशबाट सहभागिता हुने उहाँको भनाइ छ । देश र जनताको निःस्वार्थरुपमा सेवामा लागेको भन्दै पार्टीले समाजवादी आचरणलाई व्यवहारमा लागु गर्ने जनाएको छ । आठौँ महाधिवेशन सफल पार्न जनसहभागिता रहने बताइएको छ । महाधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयारीकारसाथ पार्टी तयारीमा जुटेको पार्टी केन्द्रीय सदस्य सुनिल प्रजापतिले बताउनु भयो । पार्टी अध्यक्ष नारायणमान विजुक्छें रोहितले महाधिवेशनको उद्घाटन गर्ने उहाँको भनाइ छ ।
विक्रम संवत् २०३१ साल माघ १० गते स्थापना भएको नेपाल मजदुर किसान पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो । सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । २३ केन्द्रीय र २ जना वैकल्पिक केन्द्रीय सदस्य थिए । सातौँ महाधिवेशनबाट निर्वाचित अन्य सदस्यहरूमा कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही थिए ।
त्यसै गरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिर सीँ विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित भएका थिए ।
कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह र वैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका थिए । निर्वाचित कार्यसमितिबाट प्रेम सुवाललाई सचिव र मोहनप्रसाद प्रजापतिलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो । २०३१ सालमा स्थापना भएको पार्टीको अध्यक्षमा लगातार नारायणमान बिजुक्छेँ हुनहुन्छ ।
८५ वर्षका बिजुक्छे नेतृत्वको पार्टीले अन्य कम्युनिस्ट पार्टीलाई छद्मभेषि पार्टीको रूपमा हेर्दै आएको छ । आठौँ महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने सङ्केत नेताहरूले गर्दै आएका छन् । पार्टी सम्मेलन र महाधिवेशन स्थापना २०३१ माघ १० प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवा दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुर तेस्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुर चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुर पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँ छैटौँ महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौँ सातौँ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुर आठौँ महाधिवेशन २०८१ फागुन १६, १७, १८ र १९ भक्तपुर






प्रतिक्रिया राख्नुहोस्